सरिता तिम्सिना पगेनी
पोखरा । पोखराका क्रियाशिल पत्रकार अर्जुन गीरीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको बिरोध देशैभर भएको छ ।झन कास्की त उनको गृह जिल्ला। यहाँका पत्रकारहरु गीरीको रिहाईका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहनु स्वभाबिक नै भयो । बुधबार नेपाल पत्रकार महासंघ कास्कीले जिल्ला प्रहरी कार्यलयमा बिरोध तथा धर्ना कार्यक्रममा सहभागीता जनाउन कस्केली पत्रकारलाई अपिल गर्याे । सोही बमोजिम पत्रकारहरु सहभागी पनि भए । पछि जिल्ला प्रशासन कार्यलय कास्कीमा धर्ना दिने कुरा भयो । ठुलो संख्यामा पोख्रेली पत्रकार गीरीको बिनाशर्त रिहाईको माग गर्दे जिल्ला प्रशासन कार्यलय पनि पुगे ।एक दर्जन पत्रकारका बिभिन्न संघ संगठनमा आबद्ध नेताले गीरीको बिनासर्त तुरुन्त रिहाईको माग गर्दे आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै मन्तब्य राखे । जब पत्रकार अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाबारे मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन पत्रकारहरु मुख्य मन्त्रीको कार्यलयमा जाने कुरा भयो तब सबै पत्रकारहरु मुख्य मन्त्रीको कार्यलय तर्फ हानीए ।तर बाटोमा निषेधित क्षेत्र भन्दै सुरक्षाकर्मीबाट पत्रकारलाई अबरोध सृजना गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा सहभागी पत्रकारहरु रुष्ट भए ।केहीले निषेधाज्ञा तोड्नु पर्छ भन्ने आवाज उठाए भने कतिपयले शान्तीपुर्बक आन्दोलन गर्ने कुरा गरे । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठले समन्वयकारी भुमीका खेलिरहेकै थिए । जब मुख्यमन्त्रीले केही पत्रकार संग मात्रै बस्ने भन्ने कुरा बाहिर आयो तब आन्दोलनमा सहभागी अन्य पत्रकारहरु आक्रोशित बने ।
मुख्य मन्त्रीलाई आफ्ना गतिविधि प्रचार गर्दा सैयौं पत्रकार चाहिने तर पत्रकारका विषयमा जानकारी लिन भने केही संख्यामा मात्रै बोलाएर अन्य पत्रकारहरुको भावनामाथि खेलवाड गरी प्रेसप्रति अनुदार गर्न पाइन्छ पत्रकारहरुले आक्रोश पोखे । महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल र कास्की जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले भोलि बिहान ९ : ३० बजे भेला हुने गरि आजको बिरोध कार्यक्रम यहि सकियो भन्ने जानकारी गराए पछि भने आन्दोलनमा होमिएका पत्रकारहरु जिल्ल परे ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले आन्दोलनको नेतृत्व लिने तर आन्दोलनमा होमिएपछि र आन्दोलनको नेतृत्व गरेपछि कसरी आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनु पर्छ त्यसतर्फ केन्द्रीत बन्ने हो कि भोली फेरी आउने गरि आज स्थगित भयो भन्ने हास्यास्पद जवाफ दिने हो आन्दोलनमा सहभागी एक युवा पत्रकारले गुनासो पोखे ।
सत्ता पक्षसँग सोधेर, सल्लाहा लिएर आन्दोलन गर्दाको परिणाम समग्र पत्रकारको हितमा हुनै सक्दैन । पोखरेली पत्रकार अर्जुन गिरीको रिहाई चाहन्छन । त्यसैले पत्रकार महासंघले पत्रकारको मनोबल उच्च बनाउन र स्वतन्त्र प्रेसको रक्षा गर्न यो वा त्यो बाहानामा बहकिनु हुदैन ।
पत्रकारलाई बेवास्ता गरिएको घटनाप्रति पत्रकार महासंघ लगायत पत्रकारका बिभिन्न संघ संगठन गम्भिर बन्न आबश्यक देखिएको छ ।