श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

0
929

एजेन्सी , श्रीलंका

श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ ।

श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् । मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् ।

घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गिरफ्तार गरिएकाहरुसँग सोधपुछ भइरहेको जनाइएको छ । विस्फोट कसले गराएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।  चर्च र फाइव स्टार होटललाई निशाना बनाए गरिएको सिलसिलेवार ८ बम धमाकाले पूरा दुनियाँलाई त्रसित गरिदिएको छ ।   अहिलेसम्म कुनैपनि संगठनले यो विस्फोटको जिम्मेवारी लिएको छैन । तर, यस हमलाको लागि श्रीलंकाको प्रहरीले एक स‌ंगठनमाथि भने आशंका गरेको छ । त्यहाँको चरमपन्थी इस्लामिक संगठन नेशनल तौहीद जमात (एनटीजे) माथि यसको आशंका गरिएको छ ।

यसैबीच कोलम्बो विमानस्थल नजिकै ‘पाइप बम’ फेला परेको छ । ६ फिट लामो बम श्रीलंकाली वायुसेनाले निस्क्रिय तुल्याएको छ ।