बागलुङ नगरपालिका वडा न.१४ नारायणस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिले सफ्टवेर प्रविधि प्रयोगमा ल्याएको छ । सफ्टवेरले नारायणस्थानका ४ हजार ७ सय जनाकोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग गर्नेछ ।
८० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सफ्टवेरको लागि बागलुङ नगरपालिकाले ४० हजार रुपैयाँ र वडा कार्यालयले ४० हजार रुपैयाँ बिनियोजन गरेको थियो ।
सफ्टवेरले प्रत्येक महिला तथा पुरुषहरुको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवति तथा कुपोषित महिलाहरुको अवस्था, परिवार नियोजनको अवस्था, मद्धुमेह, उच्च रक्तचाप, मृगौला रोग, क्यान्सर, उमेर अनुसारको जनसंख्या आदिको विवरण तुरुन्तै निकाल्न सकिनेछ ।
सफ्टवेरको उद्घाटन् गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनक राज पौडेलले स्वास्थ्य चौकी तहमानै सफ्टवेर निर्माण गरि प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्नु देशकै एउटा नमुना काम भएको र आगामी वर्षहरुमा यस प्रविधिलाई पालिकाका अन्य स्वास्थ्य संस्थाहरुमा समेत लागु गराउन प्रयत्न गरिने बताए ।
सामाजिक विकास समितिका संयोजक गणेश थापाले महिला स्वास्थ्य स्वयमसेविका, स्वस्थ्य आमा समुह, स्वास्थ्य चौकी, वडा कार्यालय, नगरपालिका सबैको चासो र अथक प्रयासमा सफ्टवेर निर्माण गर्न सफल भएको धारणा व्यक्त गरे ।
उनले ‘सफ्टवेर’को प्रभावकारी सञ्चालनको लागि स्वास्थ्य आमा समुह र स्वयम सेविका तथा स्वास्थ्य संस्थालाई प्रोत्साहन कार्यक्रम ल्याउने बताए । भर्चुवल टेक्नोलोजिका निर्देशक सविन शर्माले सफ्टवेरका विशेषताको बारेमा जानकारी गराएका थिए भने सफ्टवेर राख्नुको उद्धेश्य बारे स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले जानकारी गराएका थिए ।
नगर स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डेले स्वास्थ्य चौकी नगरकै नमुनाको रुपमा अगाडी बढेकाले स्वास्थ्य चौकीका हरेक गतिविधिलाई पालिकाबाट सहयोग गरेको र आगामी वर्षमा पनि गरिने विश्वास दिलाए ।
कार्यक्रममा वडाका १६ वटा स्वास्थ्य आमा समुह र चार बालविकास केन्द्रलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । सामाग्रीले पाँच वर्ष मुनिका बालबालिकाहरुको वृद्धि अनुगमन समुदायस्तरबाटनै गर्न सकिने भएकाले वृद्धि अनुगमनको प्रतिसतलाई बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य महिला स्वयम सेविका धनादेवी शर्माले स्वास्थ्य चौकीले जनताको स्वास्थ्यको लागि सफ्टवेर बनाएकाले आफुहरुलाई काम गर्न सहज हुने धारणा व्यक्त गरिन् ।
समुदाय स्तरमा राम्रो काम गरेकोले प्रशंसा गर्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिले १६ जना महिला स्वास्थ्य स्वयमेसेविकालाई सम्मान गरेको थियो ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य व्यवस्थापन समितिका सदस्य कुमार पौडेल र सञ्चालन ऋषिराम शर्माले गरेका थिए ।