प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै हेटौंडामा वृहत बिरोध प्रदर्शन

0
474
हेटौंडा–नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै आन्दोलित बनेका देशभरका पत्रकारहरुले बिहीबार हेटौंडामा वृहत बिरोध प्रदर्शन गरेका छन् ।

स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरको अगुवाईमा मकवानपुरका विभिन्न सञ्चार माध्यममा सहभागी सञ्चारकर्मीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियतले ल्याइएको नेपाल पत्रकार महासंघ र प्रेस युनियनको ठहर छ ।

पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत रहेकोले विरोध गर्नु परेको विरोधपछिको सभामा बोल्दै प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहालले बताए ।

हेटौंडाको सीमाचोकबाट सुरु भएको बिरोध ¥याली बुद्धचोक हुँदै उद्योग वाणिज्य संघ चोकमा पुगेर पुनः सीमाचोकमा फर्किएर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

युनियनका सचिव प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने बताउँदै अब पत्रकार मात्र होइन आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औंल्याए । युनियन मध्यमाञ्चल संयोजक दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश उपाध्यक्ष नानीमैयाँ कार्की (सम्झना), पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, युनियन पूर्वअध्यक्ष गोकर्ण सुबेदीलगायत पत्रकारका विभिन्न पेशागत संघ संगठनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आन्दोलनको क्रममा भोलि शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा हेटौंडामा सञ्चार सामाग्री प्रदर्शन गरी प्रेस स्वतन्त्रताविरोधी विधेयक सच्याउन सरकारलाई दबाब दिने कार्यक्रम रहेको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । महासंघको अगुवाईंमा बुधबार मकवानपुरका सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने युनियन र महासंघले सरोकारवालासँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए ।