पोखराका होटल ब्यबसायी पौडेल अपहरण काण्डः ३ भारतीय थुनामा

0
979

 

पोखराको पृथ्वीचोकस्थित होटल नीलकमलका सञ्चालक शालिग्राम पौडेल अपहरणमा संलग्न ३ भारतीय नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।  कास्की  जिल्ला अदालतले उनीहरुलाई  सो आदेश  दिएको हो  । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो  ।  विहार बनारपुरका ३९ वर्षीय सुनीलकुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय बिहीबारै कास्की कारागार पठाइएका छन् । उक्त दिन अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश अधिकारीले पुर्पक्षका लागि थुन्ने आदेश दिएका हुन् । उनीहरु माथि  बुधबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अपहरण र शरीर बन्धक एवं डाकाचोरीसम्बन्धीको मुद्दा दर्ता भएको थियो ।थप अनुसन्धानका लागि उनीहरुलाई थुनाको आदेश भएको बताइएको  छ ।

यस्तो छ घटनाक्रम  :
भारतको विहारबाट पोखरा आएका सुनील, सुन्दरम र अविजित  वैशाखको १७ गते    पोखराको पृथ्वीचोक स्थित  होटल नीलकमलमा बसेका थिए । उनीहरुले होटलमा खाना खाए ।खाना खाएको  पैसा तिर्नको लागि पैसा  नभएको कारण देखाउँदै  एटिएमबाट पैसा निकालेर दिन्छु भन्दै भोलिपल्ट पौडेललाई कारमा लगेका थिए ।
सर्बप्रथम उनीहरुले होटल संचालक पौडेललाई पोखराको  सिर्जनाचोक लगे ।   उनीहरु राष्ट्रबैंक चोक हुँदै ड्यामसाइड पुगेर होटल केसीमा चिया समेत  खाएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले पौडेलसँग भएको मोबाइल खोसेको र मुख बाँधेर पिट्दै स्याङ्जातिर लगेको प्रहरीले बताएको छ ।
पिटाइको पिडाले   कारभित्र नै छटपटाएका पौडेल  कारको ढोका खोलेर  सडकमा बजारिएका थिए । बाटोमा हिँड्दै गरेको ट्याक्सी चालकले घटना थाहा पाएर प्रहरीलाई खबर गरे । स्थानीय युवाले उक्त गाडीको पिछा गरे । अन्त्यमा  स्याङ्जाको फेदीखोला पुगेपछि फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारीलाई पक्राउ गरिएको थियो ।