आशिष थापा
महाभारत का एक उत्कृस्ट पात्र युधिस्तिर धैर्यवान र बुद्धिमान राजा थिए। विषम परिस्थितिमा पनि उपयुक्त निर्णय लिन सक्ने गज्जबको क्षमताका कारण पनि उनि प्रसिद्ध थिए। नदिको रुप धारण गरेका यक्ष, युधिस्तिरलाई प्रश्न को छडी लगाउदै थिए। उनले सोधेका धेरै प्रश्न मध्ये एउटा प्रश्न; वायु भन्दा पनि तिब्र के छ ? उनको उत्तर थियो; मन , साच्चै नै मान्छे को मन, प्रकाशको गति भन्दा पनि तिब्र छ। भर्खरै यथार्थपुरमा भएको मन कति छिटो कल्पनापुरमा पुगी के के कुरा सोचेर सपनाको संसार बुन्न थाल्छ, नेपाल मा भएको मन अमेरिका पुगेर अमेरिकाको राष्ट्रपतिसंग संबाद गर्न थाल्छ। यो मनको गति कसैले पनि रोक्न नसक्ने जीवन को परिवर्तन जस्तै छ। बालकलाई वृद्ध बनाई दिने यो समय , संसार को हरेक चिज मा लागु हुन्छ – प्रविधिको परिवर्तन सिद्धान्त जस्तै
पर्याप्त सूचना र प्रशस्त समयको कारण जकडिएका आजका पुस्ता आफ्नो हरेक काम स्मार्ट तरिकाले पुरा गर्न चाहन्छ। उसका हरेक काम छिटो र छरितो ढङ्गले पुरा हुनु पर्छ। थोरै परिश्रम मा धेरै काम गर्न चाहन्छ। जस्तो तिब्र गतिमा समय परिबर्तन भएको छ त्यो रफ्तार संग समान्तर हुन पनि उसका काम स्मार्ट हुन जरूरी छ। प्रविधिको बिकाश लाई हामीहरु को दैनिक जीवनी संग जोड्ने हो भने सामाजिक संजाल ले ठुलो भूमिका खेलेको छ। सानो मा संगै खेलेको, खाएको साथि अहिले सामाजिक संजाल मा सजिलै भेट्न सकिन्छ जसको कारण मित्रता मा मिठास त ल्याएको छ र त्यो मिठास छोटो समय मै तितो हुन थालेको छ। त्यो मित्रता लाईक, कमेन्ट , शेअर को तराजु मा तौलिन लगिएको छ। यी र यस्तै घटनाले बढावा पाउदै प्रतिशोध स्वरूप विभिन्न अपराधको जन्म हुन पनि थालेका छन्। जसको कारण सुमधुर सम्बन्ध नरहे पछि मोबाइल मा कैद गरिएको गोप्य तस्बिर/ भिडिओ रिभेन्ज को रुपमा साथि लाई पठाई दिने , विभिन्न साईट मा अपलोड गरिदिने र उसको चरित्र हत्या गर्दिने जस्ता कुरा हरु बढदै गएको छ। मान्छे मन पर्न छाडे पछि फेक आइडी बनाएर उसलाई होच्चाउने, धम्काउने, जिस्काउने ( साइबेर बुलीइंग , हेरेस्मेंट ) जस्ता धेरै घटनाहरु बाहिर आउन थालेका छन्
नेपाल प्रहरी मुकदर्शक बनेर यो घटनाहरु लाई हेर्ने बाहेक केहि उपाय छैन किनकि प्रहरी संग यस बिषयमा अनुसन्धान गर्ने कुनै स्रोत /साधन छैन। कानुनी रुप मा प्रहरी संग आएको यस्ता उजुरीहरु लाई सम्बन्धित संजाल सेवा प्रदायक मार्फत, जो कुनै विकसित राष्ट्रमा आफ्नो बेस स्टेशन बनाएर बसेका हुन्छन, त्यहाँ विभिन्न विवरण जस्तै दुरुपयोग गरिएको इमेल ठेगाना, आइपी ठेगाना को माग गर्दा MLAT ( Mutual legal Assistance Treaty ) अन्तर्गत दर्ता भएर आउनु भन्ने जवाफ आउँछ। वास्तवमा MLAT भनेको दुई वा दुई भन्दा बढी राष्ट्र संग सूचना आदान-प्रदान को निम्ति गरिने सन्धि हो। नेपालले अमेरिका सित यस्तो सन्धि गरेको छैन र गरेको भए पनि सेवा प्रदायक बाट सूचना लिन धेरै समय लाग्न सक्छ जसले गर्दा पिडित व्यक्तिलाई ढिलो न्याय दिनु न्याय नदिनु बराबर हुन जान्छ।
यस्ता खालका जटिल अवस्था आएका छन् जसले गर्दा सामाजिक संजाल लाई नेपालमा नियमन गरि कानुन अन्तर्गत ल्याउन जरूरी छ। यसको लागि सरकार ले चालेको कदम सराहनीय छ। सामाजिक संजाल कानुन अन्तर्गत आउन साथ् अपराध नियन्त्रण मात्र हैन, सामाजिक संजाल बाट हुने कयौँ बिज्ञापन हरु बाट सरकार ले राजस्व समेत उठाउन सक्छ। अहिले हुने गरेका बिदेशी बिज्ञापन बाट सरकार लाई कुनै पनि आम्दानी छैन। यस्तो हुनु मा सरकार पनि दोषी छ। हामीले पनि सूचना र प्रविधि लाई नेपाल सम्म आउन सक्ने नीति, नियम र कानुन र त्यो भन्दा बढी सामाजिक संजाललाई चाहिने ठुला ठुला डाटा सर्वर, डाटा स्टोर निर्माण गर्न सकेका छैनौ जसले गर्दा विश्व विख्यात कम्पनि जस्तै अमेज़न, माइक्रोसफ्ट, एप्पल आदि नेपाल आउने वातावरण निर्माण हुन सकेको छैन। नीति र नियम ले बाध्नु एक हद सम्म ठिकै हो तर पनि आज भोलि को डिजिटल मार्केटिंग को जमाना मा सुबिधा ले आकर्षित गर्न सक्नु पर्छ।
अर्को तर्फ सबै भन्दा महत्व पूर्ण कुरा भनेको नेपाली नागरिक को डाटा सम्बन्धि हो। हामी हरुको डाटा बिदेशी राष्ट्र को हात मा हुँदा के त्यो सुरक्षित रहन सकेको छ त ? हाम्रा सूचनाको दुरुपयोग भएका छैनन् भनेर कसले ग्यारेन्टी दिन सक्छ र ? के सामाजिक संजालले युरोपले ल्याएको GDPR ( General Data Protection Regulation ) अर्थात् डाटा सुरक्षा तथा गोपनियताको पालना गरेको छ त ? जस्ता कुरा हरु माथि गहन विचार गर्न आवश्यक छ।
नेपाल सार्बभौम सम्पन्न राष्ट्र हुँदा पनि आफ्नो नागरिक को हक र हितको लागि काम गर्न सक्दैन भने सार्बभौम हुनु को के अर्थ ? नेपाल जस्तो सानो राष्ट्र भनेर हेप्पिनु परेको हो भने हामी संग SAARC पनि छ। SAARC स्तरिय निर्णय गरेर एसिया महादेश को लागि एउटा छुट्टै डाटा केन्द्र/ स्टोर स्थापना गर्न सकिन्छ। यसो गर्न सके पनि प्रविधि को प्रयोग गरेर हुने हत्या ,हिंसा, अत्याचार, अपराध केहि हद सम्म नियन्त्रण गर्न सकिने थियो कि, यस कुरालाई समयमै सोच्ने कि ?
(लेखक पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायमा उप– प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ। )