आज खण्डग्रास चन्द्रग्रहण : के गर्ने के नगर्ने ?

0
1344
A star shines below the partially eclipsed moon Wednesday morning October 8, 2014 in this picture made through an amateur astronomer's 8-inch telescope at 6:06 a.m.

 आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले राससलाई जानकारी दिए । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

विशेषगरी फलित ज्योतिषमा विश्वास गर्नेहरूका लागि पञ्चाङ्गहरूले ग्रहण फल बताएका छन्। यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ। तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।

ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ ।  ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ।

क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गनहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन्। चन्द्रग्रहण सूयग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन्।  ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्य भन्छन्, ‘चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन्।’

पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ। फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ।

यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यका लागि त्यागिन्छ।