दोस्रो बादल स्मृति कपको बिजेता लेकसाइड फुटबल क्लब

0
1045

दोस्रो बादल स्मृति कपको बिजेता लेकसाइड फुटबल क्लब बन्न सफल भएको छ ।
नेपाली कांग्रेस कास्कीका स्व. नेता रामजी पौडेल ` बादल ´ को सम्झनामा नव प्रतिभा युवा क्लब पोखरा लेखनाथले यही भदौ १० गतेबाट भदौ १७ गतेसम्म लेखनाथको पावर हाउस खेल मैदानमा दोस्रो बादल स्मृति कप आयोजना गरेको हो।  दोस्रो बादल कपका संयोजक सुमिर जंग गुरुङले उक्त कपमा ३७ ओटा टिम दर्ता भएका र अन्तिम २ फाइनलमा लेकसाइड याफ सि र याम टुबेल पुग्न सफल भएको जानकारी गराए । भदौ १७ गते भएको फाइनल खेल १-१ को बराबरीमा पुगेपछि पेनाल्टी सुट आउट भएको थियो। पेनाल्टी सुट आउटमा दुबै टिमका तिन वटा खेलाडीले एक एक पटक पेनाल्टी आनेका थिए। जसमा लेकसाइड याफ सि को तर्फबाट ३ बल मा ३ नै गोल भएको थियो भने याम टुबेलको ३ बलमा २ गोल भएको थियो। याम टुबेलका एक खेलाडीले हानेको बल गोल पोष्ट को बारमा ठोक्किएर बाहिर आएको थियो।

उक्त कपको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब ने.बि संघ केन्द्रीय सभापति गोबिन्द भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको समापन पोखरा महानगर वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गर्नु भएको हो।

दोस्रो बादल स्मृति कपको समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोखरेल, बिशेष अतिथि बादल स्मृति ट्रष्टकी अध्यक्ष चन्द्रावति पौडेल र ने.बि संघ कास्कीका नि वर्तमान सभापति बिकास थापाले आफ्नो मन्तव्य प्रस्तुत गर्दै स्व. नेता रामजी पौडेल `बादल´ लाई भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा अतिथिका रूपमा नेपाली कांग्रेसका स्थानीय नेताहरु समेत उपस्थित थिए भने सयौं खेलप्रेमीहरुको खेल मैदानमा बाक्लो उपस्थिति थियो।

उक्त कपमा सबैभन्दा राम्रो खेलेर उत्कृष्ट खेलाडीको पुरस्कार याम टुबेलका मनोज गुरुङले पाएका थिए भने सबैभन्दा राम्रो गोल किप्पर बसेर उत्कृष्ट गोल किप्परको पुरस्कार लेकसाइड याफ सिका अनिश शाहीले पाएका थिए। त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै गोल हानेर याम टुबेलका अबिनाश तामाङले धेरै गोल गर्ने खेलाडीको पुरस्कार पाएका थिए।

क्लबका अध्यक्ष प्रताप बानियाँले उक्त फुटबल कपका लागि आर्थिक लगायत अन्य सर-सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्वहरुप्रति हार्दिक आभार व्यक्त गर्दै आउने दिनहरुमा समेत सबैको सहयोग पाउने आशा गर्दै बिजेता टिम लेकसाइड याफ सिलाई हार्दिक बधाई ज्ञापन गरेका छन।