जर्मनीको कोलोन शहरका मेयर ह्यान्स वेयरनर ब्रार्चले गरे पाटन दरवार क्षेत्रको अवलोकन

0
725

ललितपुर।   जर्मनीको कोलोन शहरका मेयर ह्यान्स वेयरनर ब्रार्चले पाटन दरवार क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । मेयर ब्रार्च १५ सदस्यीय टोलीसहित आएका हुन् । मेयर ब्रार्च मंगलबारबाट काठमाण्डौमा आयोजना हुने व्यापार व्यवसायसंग कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
मेयर ब्रार्च सहितको टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जन, उपप्रमुख गीता सत्याल, प्रवक्ता राजु महर्जन, वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सोमबार पाटन दरवार क्षेत्रमा स्वागत गरे ।
मेयर ब्रार्चको टोलीलाई स्वागत गर्न महानगरका सल्लाहकारहरु डा रोहित रञ्जितकार, प्रफुल्लमानसिंह प्रधान, दिलेन्द्रराज श्रेष्ठसमेत पाटन दरवारपरिसरमा पुगेका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जनले ललितपुर कला,संस्कृति र सम्पदाले सम्पन्न शहर भएको वताए । विश्व कला परिषदले ललितपुरलाई ३५ औ कला नगरी घोषणा गरेको समेत जानकारी गराए । नगरप्रमुख महर्जनले जर्मनीको उक्त शहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापित गर्न प्रक्रिया अघि बढेको वताए । जर्मनीका मेयरले पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर, चारनारायण मन्दिर लगायतका मन्दिरहरुको पुनःनिर्माण बारे चासो राखेका थिए । यसैगरी सुन्दरी चोक, मुलचोक, भण्डारखाल बगैचाको सुन्दरता देखेर कोलोन शहरका मेयरको टोली खुसी देखिन्थे । उनीहरुको स्वागतमा महानगरपालिकाले धिमे बाजा सहित नेवारी पहिरन सहित पहिचान झल्किने नृत्यहरु समेत प्रस्तुत गरेको थियो ।  महानगरका सम्पदा सल्लाहकार डा रोहित रञ्जितकारले पटन दरवार क्षेत्रमा भैरहेको सम्पदा पुनःनिर्माणको बारेमा जानकारी गराएका थिए । यसैगरी दरवार क्षेत्रमा भएका मन्दिरहरुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरुको बारेमा समेत जानकारी गराएका थिए ।