पुष्पपराग अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न

0
1422

पुष्पपराग साहित्य प्रतिष्ठानले आयोजना गरेको पुष्पपराग अभिनन्दन तथा सम्मान कार्यक्रम असोज १५ गते सम्पन्न भएको छ । तीनकुनेको सुविधानगरस्थित कौटिल्य स्कुलको सौजन्यमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका हातबाट मूर्तिकलाका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त कलाकार ठाकुरप्रसाद मैनाली र वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई पुष्पपराग अभिनन्दन गरिएको थियो भने साहित्यकार श्रीधर पौडेल, गङ्गा कर्माचार्य पौडेल र डा. बमबहादुर थापा जितालीलाई पुष्पपराग सम्मान गरिएको थियो ।
प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार मोहन दुवालले ठाकुरप्रसाद मैनालीका बारेमा व्यक्तिचर्चा गर्नुभएको थियो भने समालोचक डा. रामप्रसाद ज्ञवालीले साहित्यकार पुष्कर लोहनीको बारेमा व्यक्तिचर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा.डा. वासुदेव त्रिपाठीले पुष्पपरागले गरेको यस कार्यक्रमबाट आफू निकै प्रभावित भएको र यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइरहोस् भन्ने शुभकामना दिनुभयो । अभिनन्दित तथा सम्मानित व्यक्तित्वहरूले निकै प्रशन्न मुद्रामा आआफ्ना धारणा राख्ने क्रममा पुष्पपरागको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
उक्त कार्यक्रममा भर्खरै आजीवन सदस्य प्राप्त गर्नुभएका साहित्यकार पद्मप्रसाद दाहाल, राजेन्द्रकुमार बज्राचार्य र अनुराग अरुणलाई प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले सदस्यता प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य प्रजापति तिमिल्सिनाले आमाका नाममा गीत, सङ्गीत तथा छन्दकविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पद्मावती स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाको सभापतित्वमा सदस्य टी.एन. भट्ट विश्वामित्रले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सचिव डा. प्रदीपकुमार मैनालीले आगन्तुक अतिथिलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पुष्पपराग साहित्यिक पत्रिका प्रकाशनको समेत घोषणा गरिएको थियो । साहित्यकार दिल पौडेलले साहित्यिक पत्रिका प्रकाशनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।