मृतक बालिकाको शव घटनास्थलमाः आफन्त प्रर्दशनमा

0
860

टीकापुर ।

जानकी गाउँपालिका–४ मुनुवामा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्त प्रदर्शनमा उत्रिएका छन । उनीहरुले अहिलेसम्म मृतक बालिकाको शव घटनास्थलबाट उठाएका छैनन् ।

बिहीवार अपरान्ह ४ बजे से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको मृत्यु भएको थियो । भाईलाई साइकलमा बोकेर विद्यालयबाट घर फर्किरहेकी चौधरीलाई मुनुवा चोक नजिकै ट्याक्टरले ठक्कर दिएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार उनी सर्वोशिखर बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत थिईन ।

घटना लगत्तै मृतक बालिकाका आफन्त विरोधमा उत्रिएका छन । उनीहरुले क्षतिपूर्ती र दोषीलाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन थालेका छन ।

उनीहरुले ट्याक्टरधनीसँग घटनास्थलमै वार्ता हुनुपर्ने माग अघि सारेको बताईएको छ । माहौल नियन्त्रण बाहिर जान थालेपछि गाउँपालिका अध्यक्ष प्रदिप चौधरी घटनास्थल पुगेका छन ।

प्रहरीले ट्याक्टर चालक नियन्त्रणमा आईसकेको बताएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज डिएसपी मनोहर भट्टले पीडित पक्ष र ट्याक्टरधनीबीच वार्ताको प्रयास भैरहेको जानकारी दिए ।