उप निर्वाचन परिणामको सन्देश: लोकतन्त्रमाथि प्रश्न चिन्ह

0
888

डा. रण बहादुर रावल

भर्खरै जनप्रतिनिधी रित्त रहेका स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । अहिले केही ठाउँको नतिजा आइसकेको छ भने केही ठाउँको आउने क्रम जारी रहेको छ । अहिलेको उपनिर्वाचनको सन्दर्भ हेर्दा देशभरी नेकपा र नेपाली काँग्रेसबिच प्रतिष्पर्धा भएको देखियो । कतिपय स्थानमा समाजबादी र राष्ट्रिय जनता पार्टीलाई पनि जनताले मत दिएका छन् । समग्रमा हेर्दा अहिलेको मत परिणाम हेर्दा लोकतन्त्रमाथि प्रश्न चिन्ह आएको छ ।

सरकारमा होस या बाहिर होस जनताका पक्षमा काम गर्ने नगर्ने, राम्रो नराम्रो, गुण र दोष लगायत जनताले विशलेषण गर्ने क्षमता हुनुपर्छ । मतदान गरेकोमा गाली गर्नु भएन सम्मान गर्नै पर्छ । मतदान भनेको सहि जनप्रतिनिधी छनौट गर्ने अवसर पनि हो । अहिलेको उपनिर्वाचनको मत परिणाम हेदा चाहि समग्र रुपमा चाहि सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले र एमाओवादी केन्द्र मिलेर बनेको पार्टी)को बर्चस्व देखियो । ततपश्चात पनि कतिपय ठाउँमा उहाँहरुको २०४८ सालदेखिनै निर्वाचनका बेला बहुमत बटुल्दै आएका स्थानमा अहिले आशातित मत पाउन नसकेको देखियो । धरान लगायतका केही वडामा नेकपाका किल्लाहरु भत्किए । अर्को कतिपय स्थानमा पुरा शक्ति लगायर सत्तापक्षले जिताएको पनि देखियो ।

समग्रमा हेर्दा खेरी वर्तमान सरकारले शान्ति सुरक्षा दिन सकेको छैन । भ्रष्टाचार व्यापक रुपमा बढेको, कर मनपरी ढंगले उठाएर जनताको डाढ सेकेको अवस्था, महँगी यावत समस्या जनताले भोगिरहेका छन् । कुटनीतिक हिसावमा यो सरकार असफल भएको छ । नेकपाको दुई तिहाइको सरकार हुँदा पनि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई भारतीय नक्सामा देखाइएको छ । अलिकती राष्टृयता, सिमा मिचेर भारतको नक्सामा पर्दा पनि निर्मला पन्त लगायत १५०० भन्दा बढी बलत्कृत साथै हत्या गर्ने सरकारलाई दन्ड दिनु साटो निर्बाचन परिणाम नेकपा को पक्षमा आउनु अनुमोदन गरे सरह हो । यस्तो राष्ट्रियतामा कुटनीतिक, राजनीतिक, आर्थिक, सामाजिक हिसावबाट पनि वर्तमान सरकारले आशातित काम गर्न नसकेको भएपनि यत्रो विजय पाउनु भनेको लोकतन्त्रमाथि अलिकति प्रश्न चिन्ह हो । अहिले जनताले यस्तैलाई विजयी गराएकोले झन अराजकता र सत्तालाई अधिनायकबादभन्दा पर गएर जनता त हामीले जे गरे पनि मत दिइहाल्दा रहेछन् भन्ने सोच बढ्छ । यो लोकतान्त्रीक विधि र पद्दती, मूल्य र मान्यतालाई बल पुर्याउनलाई हामीले मतदाताहरुलाई पनि बढीभन्दा बढी सचेत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

म नेपाली काँग्रेसमा आवद्ध भएको र सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँ भनेर मैले यो भन्न खोजेको होइन । काँग्रेसले जित्यो भन्दै खुशी हुने र नेकपाले जित्दैमा दुखी हुने भन्ने होइन । मैले भनेको अर्थ के हो भने गलत गर्ने प्रवृतिलाई दुरुत्साहित गर्नलाइ निर्वाचन हुन्छ । अब गलत गर्ने, गर्दै जाने अझ उतातिर उनीहरुलाइनै विजयी गराउदै जाने हो भने त राम्रो भएन । यसमा प्रश्नचाही खडा भएको छ । यसमा चाहि ठुलो बहस आवश्यक रहेको छ । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण समग्र तहमा जिम्मेवार पार्टीहरुमात्र होइन हरेक लोकतान्त्रिक विधी र पद्दतीलाई मान्नेहरुले यसमा बल पुर्याउनुपर्ने देखिन्छ ।

नेपाली काँग्रेसभित्र लोकतान्त्रिक मूल्य र मान्यताका सन्दर्भमा ठिक छ । सात दशकभन्दा अगाडि देखि स्थापित पार्टी । यसले जनताका पक्षमा, जनतालाई सार्वभौम बनाउनका लागि ००७ को क्रान्तिदेखि लिएर देशमा भएका ठुलठुला जनआन्दोलनको अगुवाई लिएर अन्तिमसम्म पनि जनताको पक्षमा लडिरहने पार्टी हो । अहिले आएर जुन यत्रो लामो दशक पछि विपि कोइराला जस्तो महामानवले स्थापना गरेको यो पार्टी आज आएर धेरै कुरामा त राम्रो छ तर, केही कुरामा पार्टीभित्र कमजोरी देखियो । पार्टीमा लागेका मानिस जो छन आफुले भनेको अनुसार गयो भने सब राम्रो यदि आफुले भने अनुसार भएन भने सब नराम्रो भन्ने छन् । अन्तिम दिनसम्म पनि आफनो नेताको पक्षमा अन्य कुरामा जनतामा खुलेआम भिडेको देखिन्छ । अन्तिममा आएर त एकता देखियो तर, चाहि जुन हिसावले जुन पार्टीप्रति इमान्दार नेता छन । उहाँहरुले शुरुदेखि अन्तसम्म जो देखाउनुपर्ने हो त्यो भएन । पार्टीको कमी कमजोरीलाई आन्तरिक रुपमा बहस गर्नुपर्ने थियो तर, समाजमै खुलेआम छताछुल्ल हिसावले बाहिर ल्याउने प्रवृतिले पनि निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । भान्से त भान्सेहरु छन तर, धेरै भान्से हुँदा कहिले नुन बढी हुने, कहिले तेल बढी हुने देखिन्छ । त्यसकारण एउटै नेतृत्वमा भान्सा चल्यो भने सबै चिज समान हिसावले काम भइरहेको हुन्छ । अहिले नेपाली काँग्रेसको त्यही अवस्था छ । पार्टी सभापतिलाई चारैतिरबाट प्रहार गरेको देखिन्छ । त्यसपछि गएर अन्यौल देखिन्छ र अन्तमा आएर सबै मिलेको जस्तो देखिन्छ ।

यो प्रवृतिले गर्दा जनतामा केही दुविधा पैदा भएको छ । आगामी दिनमा नेपाली काँग्रेसले एउटा चेन अफ कमाण्डलाई मानेर आन्तरिक लोकतन्त्रलाई बलियो र सुढृद बनाउदै एउटा अनुशासित पार्टीका रुपमा स्थापित जसरी विगतमा थियो त्यो भन्दा बढी बलियो भएर अगाडि बढनुपर्ने अहिले महशुष भएको छ । नेपाली काँग्रेसका भातृ संगठनहरुमा एकता गर्दै पार्टी भित्रका आन्तरिक द्धन्द्धलाई मिलाएर अघि बढ्नुपर्ने देखिन्छ ।
नेपाल कम्यूनिष्ट पार्टीले विजयी गरेकोमा धेरै गौरव गर्नुपर्ने देखिदैन । सबै स्रोत साधनको दोहन भएको छ । उपनिर्वाचनमा राज्यको स्रोत साधनको सदुपयोग गरिएको छ । थुप्रो ठाउँहरुमा त खुकुरीनै प्रहार गरिएको छ । गुण्डाहरु प्रयोग गरिएका छन् । राज्यका स्रोत साधन प्रयोग गरि जनतामा प्रभाव पार्ने काम भएको छ । सरकार स्वयम भएको नाताले निर्वाचन आचारसंहितालाई उल्लंघन गर्दा पनि निर्वाचन आयोगले खासै काम गरेको देखिदैन । त्यसकारण निर्वाचन आयोग पनि प्रभावित भएको महशुष भएको छ । जुन ठाउँ नेपाली काँग्रेसले जित्नै पर्ने थियो त्यहा हार भएको देखिन्छ । वर्तमान सरकार जुन किसिमले अगाडि बढेको छ यो खाने वेला एकता भन्ने जस्तो देखिएको छ । स्रोत साधन हातमा छ । तर, यो सरकार दिगो रुपमा रहन सक्ने देखिदैन । बनावटी एकता जतिखेर पनि धरापमा पर्न सक्छ । उहाँहरुले समयमै सजग भएर लोकतन्त्रलाई बलियो बनाएर यसका मूल्य मान्यतालाई र खासगरी पद्दती सम्मान गरेर अगाडि बढ्यो भने चाहि समग्रमा नेपालमा संघियता भन्नुहोस या लोकतन्त्र भन्नुहोस सब बलियो हुन्छ । तर, त्यो प्रक्रियामा अहिलेको सत्ता पार्टी मुलत लागेको देखिदैन ।
समग्रमा जो पार्टीमा लागेका साथी, समाजसेवामा लागेका साथी, राजनीतिमा लागेका साथीहरुले अलि गम्भिर भएर नेपालको परिस्थिति र यहाँको समग्र स्थितिलाई आंकलन गर्ने हो भने हामी तलतिर झर्दै गएको अवस्था छ ।

न त लोकतान्त्रिक मूल्य मान्यता बलियो भएको छ न आर्थिक रुपले समाज अगाडि बढेको छ । सामाजिक कुरितिलाई घटाउनुभन्दा बढ्दो अवस्थामा छ । यी समग्र स्थितिलाई हेर्दा हामी सबै एकताका साथ अगाडि बढ्नुपर्ने नितान्त आवश्यकता देखिन्छ । र काँग्रेसले पनि आफ्नो मुल्यमान्यता सहित अघाडी बढेमा आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित छ । अन्त्यमा प्रदेशको देशको आर्थिक क्रान्ति र समृद्धि यस्तो सरकार बाट सम्भब कहाँ होला ?

(लेखक नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् ।)