लेखनाथ महोत्सव सुरु, देश विकासका लागि उत्पादकत्व बढाउनुपर्नेमा जोड

३ पुष २०७६, बिहीबार

भीमपाणि बराल
लेखनाथ । समग्र गण्डकी प्रदेश कै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बिहीबारदेखि कस्कीको लेखनाथमा १६औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संवृद्धि नाराका साथ सञ्चालित महोत्सवको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले उत्पादकत्व नबढेसम्म देश विकास सम्भव नहुने धारणा राखेका थिए ।

समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य हुने बताउँदै मख्य मन्त्री गुरुङले प्राकृतिक स्रोत र साधनको प्रचुर मात्रमा प्रयोग गरी आधुनिक कृषि प्रविधिबाट उत्पादनमा जोड नदिँदासम्म आयआर्जन बढाउन नसकिने बताएका थिए । देशको समृद्धि र विकासका लागि उपयुक्त वातावरण निर्माण भएको बताउँदै उनले पछिल्ला समयमा उद्योग तथा व्यापारको वातावरण बढिरहेकाले नेपालीको पिंढीमा स्थानीय सरकारका साथै आँगनमा प्रदेश सरकार रहेको उल्लेख गरे । जनताले अपेक्षा गरे अनुसारको समृद्धि र विकासको चाहना पूरा गर्नु बर्तमानको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

गरीबीको रेखामुनी रहेका जनतालाई माथि उकास्दै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत उनीहरूका आधारभूत आवश्यकतालाई पूरा गराउँने लक्ष्यका साथ सरकार लागिपरेको उनको भनाई थोयो । लेखनाथ महोत्सव नेपाल कै ठूलो महोत्सवका रुपमा अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले यसले राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिएको उल्लेख गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले उत्पादनमा जोड दिदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउँदै उद्योगधन्दा कलकारखनाको विकास तथा विस्तारमा लाग्नुपर्ने सुझाव दिएका थिए । सोही अवसरमा पूर्व मन्त्री यज्ञबहादुर थापाले लेखनाथ महोत्सवका माध्यमबाट यस क्षेत्रका सर्वसाधारणले देखाएको एकता, सद्भाव यहाँको समग्र विकासका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा उद्योग धन्दाको विकासका माध्यमबाट आर्थिक समृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले महोत्सवमा देखिएको एकताले यस क्षेत्रको विकासमा पनि टेवा पु¥याउने भएकाले यसलाई राष्ट्रिय विकाससगँ पनि जोडेर हेर्न आग्रह गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, प्रदेश सभा सदस्य विन्दु थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीलसुन्दर श्रेष्ठ, सम्पूर्ण महिलाहरुको तर्फबाट बुद्धिमायाँ थापा मगर लगायतले महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोगको आवश्यकता रहन सुझाव राखेका थिए ।

आयोजक सस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद र महासचिव गोपीचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम पूर्व विभिन्न आमा समूह, टोल विकास संस्था तथा विभिन्न जातजातिको समूहले आफ्नो कला संस्कृति झल्कने गरी महोत्सव स्थलमा साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखेको छ ।

Leave a Reply