यसरी मनाउँछन् गुरुङ समुदायले ल्होसार

१५ पुष २०७६, मंगलवार

पोखरा । गुरुङ समुदायले पुस पन्ध्रलाई आफ्नो सबैभन्दा ठुलो चाड ल्होसारको रुपमा मनाउँछन्।गुरुङ पात्रो अनुसार बार वटा ल्हो(वर्ग)हरु हुन्छन् ।ती वर्गहरुको नाम विभिन्न जनावर र चराबाट नामाकरण गरिएको हुन्छ ।यो पात्रो अनुसार प्रत्येक वर्षलाई एउटा ल्होवर्गप्रदान गरिएको हुन्छ ।वर्षहरु फेरिदै जाँदा ल्हो पनि फेरिदै जान्छन् र बार वर्षपछि पुनः पुरानो ल्होको पुनरावृत्ति हुन्छ ।
यसरी ल्होसारले गुरुङ समुदायमा नयाँ संवतको सुरुवात गराउँछ।गुरुङहरु पात्रो अनुसार वर्ग हेरेर शुभ- अशुभ , फाप्ने- नफाप्ने,जस्ता कुरा पत्ता लगाई शास्त्र अनुसार पच्यु, लामाद्वारा पूजापाठ र ग्रह शान्ति गर्ने गर्छन् ।
पुस १४ गते रातिदेखि नै ल्होसार नयाँ वर्षको स्वागत गर्न युवायुवतीहरु आगो बालेर जागा बस्छन् र राति १२ बजे पुरानो ल्हो वर्गको बिदाइ र नयाँ ल्हो (वर्ग)को स्वागत गर्छन् ।
१५ गते बिहानै आफ्नो मौलिक तमू पोसाकमा सजिएर नजिकैको क्होइबो, गुम्बामा गएर पूजापाठ गरी पच्यु, लामाद्वारा रिपा, खादा लगाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै एकापसमा शुभकामना आदान- प्रदान गर्दै ल्होसार मनाउँछन् ।
यो वर्ष गुरुङ समुदायले फो(मृग) वर्गको बिदाइ र च्यु(मुसा) वर्गको स्वागत गर्दै तमू ल्होसार मनाउँदैछन् ।यस दिनलाई गुरुङहरु आफ्नो गुरु प्रथम महापुरुषको जन्म दिनको रुपमा पनि मनाउँछन् ।

Leave a Reply