डा. टीकाराम पोखरेल
निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्ड र उनको सभामुखबाट बहिर्गमनसँगै वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे चर्चामा छिन् । नेकपाभित्र नयाँ सभामुखको खोजीसँगै उनले सभामुख पदका लागि पार्टीभित्र मात्र होइन, सार्वजनिक रुपमा नै दावी पेश गरिन् । सामान्य दाबी मात्र होइन नेकपा अध्यक्षद्वयलाई सभामुखको उम्मेदवार (आफू बाहेक) तोकेर देखाउन चुनौती नै दिइन् । दूईदुई जना शाक्तिशाली पार्टी अध्यक्षलाई चुनौती दिने शिवमायाको शक्ति देखेर धेरैले जिब्रो मात्र टोकेनन्, आश्चर्यचकित पनि भए । आखिर शिवमायामा अकस्मात यस्तो दिव्य शक्ति कसरी आयो ?
शिव आफैँमा शक्तिदेव हुन् । देवताका पनि देवता भएकाले देवाधिदेव मानिन्छन् । शिवमायामा पनि एकाएक आफ्नो नाम जस्तै शक्ति देखिएको छ । हाम्रो जस्तो पितृसत्तात्मक समाज पुरुषलाई शक्तिशाली देख्छ । तर शिवमाया महिला भएर पनि शक्तिशाली रुपमा प्रस्तुत भएको देख्दा महिलाहरु मात्र होइन, महिलावादी वा पक्षधरहरु पनि खुशी छन् । महिलामा शक्ति आउनु खुसीको कुरा हो नै । तर प्रश्न चाहिँ फेरि पनि दोहोरि नै रहन्छ कि यो शक्ति उनमा कसरी आयो ?
पहिलो कुरा त सभामुख र उपसभामुख एकै पार्टीको हुन नसक्ने संवैधानिक प्रावधान छ । यो संवैधानिक जटिलताले पनि शिवमायामा शक्ति भरिएको हो कि भन्नेको पनि कमी छैन । कसैले उनका पछाडि अदृश्य शक्ति रहेको आँकलन गरिहरहेका छन् भने कतिले चाहिँ माथिको आशिर्वाद भनिरहेका छन् । आत्मबल वा बाह्य आशिर्वाद जुुन स्रोतबाट शक्ति आएको भए पनि अहिलेसम्म शक्ति प्रदर्शनको आमनेसामनेमा शिवमाया मात्र देखा परेकाले कल्पनाको अनुमानभन्दा देखिएको हनुमानकै चर्चा गर्नु ठीक भने झँै यतिबेला उनको शक्तिकै बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ ।
शिवमाया आफूलाई सभामुखको लागि सक्षम उम्मेदवार भएकोले आफूले नै सभामुखको पद पाउनुपर्ने दाबी गर्छिन् । उनका पक्षधरहरु के उनी सक्षम छ्रैनन् र ? सक्षम छन् भने उनलाई सभामुख बनाउँदा के आपत्ति हुन्छ भन्ने प्रश्न पनि गर्छन् । तर यो सक्षम र असक्षमको प्रश्नको आवश्यकता नै छैन, किनभने शिवमायाले भने झैँ उनी सभामुखका लागि सक्षम छिन् । तर प्रश्न के हो भने सक्षम उनी मात्र होइनन्, प्रतिनिधिसभामा निर्वाचित सबै सदस्य सभामुखका लागि योग्य र सक्षम छन् । तर विडम्बना सबै योग्यले सभामुख हुन पाउँदैनन् । कारण जति जना प्रतिनिधिसभा सदस्य छन् त्यतिवटा सभामुखको पद छैन । योग्यमध्ये एक सभामुख बन्छन् बाँकीले सभामुख नभएरै बस्नुपर्छ ।
त्यसैले प्रश्न यहाँ शिवमाया सक्षम र असक्षम भन्ने होइन । सक्षमहरुमध्ये को सभामुखको उम्मेदवार बन्ने भन्ने हो । अझ त्योभन्दा पनि महत्वपूर्ण चाहिँ सभामुख कुन पार्टीले लिने भन्ने यतिबेलाको पहिलो प्रश्न हो र त्यसपछि मात्र को बन्ने भन्ने हो । बहुमतप्राप्त कम्युनिष्ट पार्टीले सभामुख पद लिने हो भने स्वाभाविक रुपमा शिवमायाले उपसभामुख पदबाट राजिनामा दिनुपर्ने हुन्छ । यो संवैधानिक जटिलताको माखे साङ्लोमा सभामुख पदमा उपसभामुखले बार्गेनिङ गर्नु हुँदैन । उनले पार्टीसँग बार्गेनिङ गरेर होइन शिष्ट रुपले आफ्नो क्षमता देखाएर र सबै नेताको मन जितेर सभामुख पद हात पार्नुपर्छ । त्यो असंभव छैन ।
तर अचम्म त शिवमायालाई पार्टीले राजिनामा दिन निर्देशन दिएसँगै उनले आफू पार्टी सदस्य नभएकोले पार्टीले निर्देशन दिन नमिल्ने बताउँदै आएकी छन् । निवर्तमान सभामुख महराले पनि पार्टी निर्देशनमा नै राजिनामा दिएको कुरा शिवमायाले भुलेकी छन् । संविधानले सभामुख र उपसभामुखलाई पार्टीको भनेर चिन्छ । यदि उपसभामुख तुम्बाहाम्फे कुनै पार्टीको होइनन् भने संविधानको धारा ९१ को उपधारा २ बमोजिम सभामुख पदमा पनि कम्युनिष्ट पार्टीले उम्मेदवार दिन कुनै समस्या हुने थिएन । संविधानमा नै प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ भनेर लेखिनुले संविधानले सभामुख वा उपसभामुख दलको प्रतिनिधि हुँदैन भन्ने कल्पना गरेको देखिँदैन । संवैधानिक व्यवस्थाले शिवमाया कम्युनिष्ट पार्टीको उम्मेदवारको रुपमा उपसभामुख निर्वाचित भएको भन्ने चिनेर नै उनले राजिनामा नगरी कम्युनिष्ट पार्टीले सभामुखमा उम्मेदवारी दिन नसकेको हो । यस्तो प्रष्ट व्यवस्था हुँदाहुँदै आफू दलको होइन भन्न कसरी मिल्छ ?
सभामुख र उसभामुखलाई कुनै दलका होइनन् भन्नुको आशय उनीहरुको दैनिक काम कारवाहीमा दलीय प्रभाव नपरोस् भन्नाका लागि हो । उनीहरुलाई दल त्याग गराउने भन्ने आशय होइन । अपवाद बाहेक दलीय पद्धतिमा कोही पनि राजनीतिकर्मी दलविहिन हुन पनि सक्तैन । एकछिनका लागि मानौँ, शिवमायाले भने झैँ शिवमाया अब कम्युनिष्ट पार्टीकी सदस्य होइनन् रे, त्यसा भए कम्युनिष्ट पार्टीले आफ्नो सदस्य नभएको व्यक्तिलाई किन सभामुखको उम्मेदवार बनाउने र उनको पक्षमा कम्युनिष्ट पार्टीका सांसदहरुले किन भोट हाल्ने ? एकातिर म दलको होइन भन्ने अर्कोतिर कम्युनिष्ट पार्टीले आफूलाई नै सभामुखको उम्मेदवार बनाउनुपर्छ भन्ने उनको कुरा आफैँमा विरोधाभास भएन र ?
दलीय व्यवस्थामा सभामुख उपसभामुख कुनै पार्टीका हुँदैनथे भने आज रामचन्द्र पौडेल, सुवास नेम्वाङ, ओनसरी घर्तीहरु पार्टीको सक्रिय राजनीतिमा हुने थिएनन् होला । उनीहरुले आफू सभामुख हुँदा पार्टी परित्याग गरेको भए पुनः पार्टी प्रवेश गरेको पनि सुनिएको छैन । त्यसैले सभामुख र उपसभामुख रहेसम्म त्यो व्यक्ति दलीय गतिविधिमा प्रत्यक्षतः सहभागी नहोस् र काम कारवाहीमा तटस्थता कायम गरोस् भन्ने आसय बाहेक कुनै राजनीतिक व्यक्तिले दलै त्यागोस् र राजनीतिविहिन बनोस् भन्ने मनसाय संविधान र कानुनको होइन र हुनु हुँदैन ।
दलीय व्यवस्थामा जसरी नेताको श्रमले पार्टी बन्छ, त्यसैगरी पार्टीको लगानीले नेता बन्छ । कम्युनिष्ट पार्टी बनाउन शिवमायाको जति श्रम परेको छ त्यो भन्दा बढी उनलाई शिवमायाको रुपमा उभ्याउन पार्टीको लगानी छ । दलको लागानी विना कोही सभामुख बन्ने हो भने दलबाहिरका अरु शिवमायाहरु सभामुख वा उपसभामुख बनेको खै ? त्यसैले पार्टी र पार्टीका नेतालाई आफूले दलीय निर्देशन मान्नु पर्दैन भनी चुनौती दिनु भनेको आफ्नो पहिचानलाई नै चुनौती हो ।
दलीय व्यवस्थामा दल विना नेता बन्दैन । त्यसैले दलमार्फत पद प्राप्त गरेपछि दल र शीर्ष नेतालाई चुनौती दिनु अराजनीतिक पनि हो । यो जटिल परिस्थितिलाई आँकलन गरी अब पार्टीले शिवमायाको शक्तिलाई पनि उचित मुल्यांकन गर्नुपर्छ, तर उनले पार्टी पद्धति र परम्परालाई चुनौती दिनु हुन्न र गैरजिम्मेवार बन्नु पनि हुन्न । शिवमायाले बुझ्नपर्ने कुरा के हो भने उनलाई पार्टी नेतालाई चुनौती दिन सक्षम पनि पार्टीले नै बनाएको हो । पार्टी विना उनको राजनीतिक क्षमता शून्य हुन्छ । उनको विद्यावारिधि प्रमाणपत्रले मात्र सभामुख बनिँदैन । बरु विद्यावारिधि नभए पनि सभामुख बन्न चाहिँ सकिन्छ ।
राजनीतिक बजारमा अनेक हल्ला चल्छन् । बाहिर बजारमा चर्चा भए जस्तो शिवमायाको पछाडि कोही अदृश्य शक्ति छ र उनको इच्छाले भन्दा पनि अरुको इच्छाले उनले बोलेको हो भने त्यो झनै अराजनीतिक हुन्छ । शिवमाया जस्तो सक्षम मान्छेले अरु नेताहरुको राजनीतिक स्वार्थको मोहरा बन्नु हुन्न । आफ्नो विवेकले चल्नुपर्छ । नयाँ सभामुख छनौटको सन्दर्भमा परिस्थिति जटिल बन्दै छ, शिवमायाले भने जस्तो गाँठो अध्यक्षद्वयमा पनि छ, तर अध्यक्षद्वयमा भन्दा बढी शिवमायाको अडानमा छ । कुन परिस्थितिले उनलाई राजिनामा नदिने अडान राख्न बाध्य गरायो । जुनसुकै परिस्थितिले भए तापनि शिवमायाको शिवशक्ति अडान भने स्वभाविक देखिन्न । यो अस्वभाविक द्वन्द्वको व्यवस्थापन बेलैमा हुनु आवश्यक छ । अन्यथा विष्फोट हुन्छ ।