पुनर्वासमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू

२६ माघ २०७६, आईतवार

किशोर तामाङ

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्व र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा शुरू भएको मेयर कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूका गरी जम्मा १२ टिमको सहभागिता रहेको पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो ।

पछिल्लो समयमा फुटबल प्रति यहाँका खेलाडीहरूको आकर्षण बढ्दो क्रममा रहेको र यस क्षेत्रका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा समेत भाग लिइसकेको हुँदा नगरपालिकाले पनि फुटबल खेललाई प्राथमिकता दिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको भनाइ छ ।

यसैबीच कञ्चनपुरको पुनर्वासमा शनिबारदेखि शुरू भएको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले खेलकुद प्रति प्रदेश सरकार सकारात्मक रहेपनि विविध समस्याका कारण आवश्यकता अनुसार बजेट विनियोजन गर्न नसकेको बताउनु भयो । मन्त्री बोहराले खेलकुदलाई समेत प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

उहाँले कञ्चनपुरको पुनर्वासमा खेलकुद मैदानका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको छ । मन्त्री बोहराले प्रदेश प्रहरी र प्रदेश लोकसेवा आयोगको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । सीमा क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले गर्न मिल्ने प्रक्रियामा कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री बोहराले मुख्य क्षेत्राधिकार संघीय सरकारकै भएको उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पुर्व सहायकमन्त्री लाल बहादुर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा (पातल), नेपाली कांग्रेस पुनर्वास नगर सभापति यम प्रसाद पौडेल सहितका वक्ताहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक र पत्रकारहरूबीच मैत्रीपूर्ण खेल भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार त्यसैगरी बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने खेल संयोजक खडक बिक्रम थापाले जानकारी दिनुभयो।

Leave a Reply