केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

२९ माघ २०७६, बुधबार

नयाँ दिल्ली ।आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यसअ सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकालेपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू दिएका छन् ।

 केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन् , “अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।”

त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । “अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।”

द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन् , “अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।”

समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने “दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको बिरूद्ध मतदान गरे ।”एएनआई

Leave a Reply