प्यारो पृथ्वी
संसार मानचित्र मा
रुग्णता छाएको छ आज
डगमगाएको छ मानवीय सभ्यता
झोक़्राएकी पृथ्वीमा
नाचीरहेछ मृत्यु
प्रदूषित वर्तमानको मध्यमा
उभिएको छ जीवन
मृत्युको द्वन्दी भएर !
ज्ञानलाई बन्धक बनाएर
विज्ञानले हालेको पखेटामा
ऊल्टो घुम्दै छ समय र
वकालत गर्दै छ मानव जीवनको,
प्रकोप बनेको पलसंग
र
आफ़नो अस्तित्व जोगाउन उद्दत छ
वर्तमान
मान्दै
जीवन सबै भन्दा माथी !
मृत्युको निर्लज्जता अघि
रोगको ज्वालामुखी बोकेर
कुठाराघात गर्दै समय
छ्याप्दै छ रोगी हिलो
विकासको मुखमा र
बनाइरहेछ विरामी पृथ्वी !
लाचार समय
प्रयासरत छ
सुरक्षा र विकल्प को
म
रोगी समय बन्दिगृहको
आँखीझ्यालबाट
बिरामी पृथ्वीलाई
चाडै निको हुनु भन्ने कामना गर्छु
रञ्जना निरौला