सूर्य ग्रहण: भ्रम र यथार्थ

0
1405

रामचन्द्र पगेनी

आज सूर्य ग्रहण। प्रायः ग्रहणहरुलाई चासोको रुपमा लिइने गरिन्छ ।ग्रहणबारे विभिन्न मान्यताहरु पनि रही आएका छन। पुराणहरुमा ग्रहण हुनुलाई सूर्य र चन्द्रमालाई राहुले निलेको आदि भन्ने गरिन्छ । तर ग्रहण विषुद्ध एक खगोलीय घटना भएको कुरा खगोलविद एवं ज्योतिषविदहरु बताउँछन। ग्रहणको बेला सूतक लाग्ने भन्दै पञ्चाङ्ग र ज्योतिषशास्त्रमा ग्रहण लागेको समयमा पालना गर्नु पर्ने नियमहरु पनि बताइएको छ।

 

ग्रहणको सामान्य अर्थ ‘लिनु’ हो।खगोलशास्त्रमा ग्रहण भनेको कुनै एक आकाशीय पिण्डको छाँया अर्को आकाशीय पिण्डमा आंशिक या पूर्ण रुपमा पर्नु हाे। सूर्यबाट आई रहेका किरणलाई चन्द्रमाले अवरोध गर्दा सूर्य ग्रहण अनि चन्द्रमासम्म पुग्ने सूर्यका किरणलाई पृथ्वीले अवरोध गर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ ।तसर्थ ग्रहण एक छाँया नै हो । चन्द्रमा पृथ्वी भन्दा सानो हुने भएकाले सम्पूर्ण पृथ्वी चाहीँ सूर्य ग्रहणमा पर्दैन।

 

ग्रहण औंसी र पूर्णिमामा लाग्ने गर्छ किनभने पूर्णिमा र औंसीको समयमा सूर्य ,चन्द्रमा र पृथ्वी लगभग एक सीधा रेखामा पर्ने गर्छन।औंसीको दिन सूर्य ग्रहण र पूर्णिमामा चन्द्र ग्रहण लाग्ने गर्दछ।

 

तर सधै औंसी र पूर्णिमामा किन ग्रहण लाग्दैन त? यसका पछिको कारण चन्द्रमाको कक्षले पृथ्वीको कक्षमा करीब पाँच डिग्रीको(५.१४५ डिग्री)  कोण बनाउनु रहेको छ।

 

आज देखिने ग्रहण वलय सूर्य ग्रहण हो। सूर्यलाई चन्द्रमाले ढाक्दा खेरी सूर्य बाला आकारमा देखिने भएकाले यसलाई वलय सूर्य ग्रहण भनिएको हो। अंग्रजीमा यसलाई annular solar eclipse पनि भन्ने गरिन्छ। कङ्गो,इथियोपिया,दक्षिणी सूडान, मस्कट,ओमान,भारतको देहरादुन,कुरुक्षेत्र,पाकिस्तानको दक्षिणी भाग र चीनको तिब्बत आदि स्थानबाट वलय सूर्य ग्रहण देख्न सकिन्छ । तर नेपालबाट भने खण्डग्रास सूर्य ग्रहण मात्र देख्न सकिन्छ । काठमाडौंबाट आज करीब ८८ प्रतिशतसम्म सूर्य ढाकिएको अवस्थामा देखिने छ। यसतो ग्रहण लाग्दा केहि समय साँझ परेर पुनः बिहानी भए जस्तो आभास पनि गर्न सकिने छ।

 

सूर्य ग्रहण एक खगोलीय घटना भएकाले रोचक त पक्कै छ। तर नाङ्गोआँखाले  सूर्य ग्रहण हेर्न हुँदैन । सूर्यबाट आउने हानीकारक किरणले आँखाको रेटिनामा क्षति पुग्न गई दृष्टि नै गुम्न सक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन ।साथै वैज्ञानिकहरु नाङ्गो आँखाले सूर्य ग्रहण हेर्न नहुने सुझाव पनि दिन्छन।

 

सूर्य ग्रहण हेर्न भनेरै बनाइएको विशेष चस्मा द्वारा या पिनहोल क्यामरा विधीबाट यसलाई सुरक्षित तवरले हेर्न सकिन्छ । कुनै  एउटा कार्टून या कागजको बट्टाको भित्री एक भागमा सेतो कागज टासी तस्यको विपरीत बाहिरी भागमा एक सानो सियो आदिले प्वाल  र अर्को  अली ठुलो हेर्ने प्वाल बनाई अन्य बाहिरी सबै भाग ढाकी  पिनहोल क्यामरा बनाउन सकिन्छ ।यसरी बनाइएको सानो प्वाल बाट सूर्यबाट आएका किरणहरुमा द्वारा बट्टाको भित्रपट्टि टासीएको कागजमा सूर्यको आकृति एवं ग्रहणको अवस्था स्पष्ठ देख्न सकिन्छ ।

 

पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा देखिने ग्रहण बिहान १०:५० बाट सुरु भइ अपराह्न २:२३ मा सकिने बताइएको छ। मौसम सफा भएको खण्डमा अब फेरी करिब ४४ वर्ष पछि मात्र नेपालबाट हेर्न मिल्ने वलय सूर्य ग्रहण सबैले सुरक्षित तवरले हेरौं है त ।

(लेखक : त्रि. बि खगोल शास्त्रका उपप्राध्यापक हुनुहुन्छ ।)