माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा (SEE) खारेजीका अबसर  एबं   चुनौती 

0
1133

हरि नेपाल

१. पृष्ठभूमि :-

चीनको बुहानबाट फैलिएको कोरोना भाईरस ( कोबिड -१९) को महाब्याधिबाट विश्व जगत प्रभाबित हुँदै गर्दा नेपाल सरकारले पुर्ब सचेतना अपनाउनु पर्ने महसुस गरि २०७६ फाल्गुण तेश्रो सातामा २०७६/१२/०६ गतेबाट सुरु हुने भनिएको SEE परीक्षा कार्यतालिका अनुरुप नै गर्ने तर चैत्रको पहिलो र दोश्रो साताबाट बिद्यालयहरुले आफ्नो अनुकुलता अनुरुप संचालन गराउने बिद्यालयस्तरका सम्पुर्ण कक्षाका परिक्षाहरु भने २०७६ चैत्र ५ गते भित्र अनिबार्य सक्नुपर्नेछ भन्ने ब्यहोराको निर्देशन सम्पुर्ण बिद्यालयहरुलाई गरायो । त्यस अनुरुप सरकारको निर्देशनलाई मान्ने बिद्यालयहरुले त तोकिएकै समयसीमा मा बियालयस्तरका परिक्षाहरु सम्पन्न गरिसकेका थिए । केही जिल्लाका निजी बिद्यालयहरुले भने चैत्र ३ गतेबाट मात्र बिद्यालय स्तरका परिक्षाहरु संचालन गरेका थिए । बिश्वमा विभिन्न देशहरुमा कोरोनाको प्रभाब निकै परिरहेको थियो परन्तु नेपालमा सङ्क्रमित भेटिसकेका थिएनन् । तैपनी तोकिएकै समयसिमा मा SEE परिक्षा संचालन हुने हो वा नहुने हो भन्नेमा एक किसिमको द्दिबिधा यथाबत थियो । नेपालमा पनि कोरोनाको सन्त्रास जनस्तरमा व्यापक थियो । यसै बिचमा चैत्र २/३ गते तिर शिक्षा मन्त्रालय मार्फत यस बर्षको SEE परीक्षाको सम्पुर्ण तयारी सकिएको र उच्च सतर्कता अपनाउदै परिक्षा तोकिएकै कार्यतालिका अनुरुप सुसम्पन्न गरिनेछ भन्ने बिज्ञप्ती पनि निकालियो । सोही अनुरुप सबै जिल्लामा परिक्षाको तयारी सम्पन्न भयो । विद्यार्थीहरु पनि घरबाट केन्द्र सम्म पुन नसक्नेहरु कोहि होटलहरुमा त कोहि आफन्तहरु को मा पुगेर परीक्षा दिन मानसिक रुपमा तयार भएर तोकिएका परीक्षा केन्द्रहरुको नजिकका स्थानहरु सम्म पुगे । चैत्र ०५ गते बेलुकी सरकारले एक्कासी अर्को ब्यबस्था नभएसम्मको लागि यस बर्षको SEE परिक्षा स्थगित गरिएको छ भनेर घोषणा गर्‍यो । परिक्षाका लागि तयारी अबस्थामा रहेका बिद्यार्थीहरुमा एक किसिमको अकल्पनिय निर्णय सुन्नुपर्‍यो । यसले बिद्यार्थीहरुमा एक किसिमको मानसिक तनाब सृजना गर्‍यो । परिक्षा स्थगित भएकोले विद्यार्थीहरु आ-आफ्नो घर फर्कन बाद्य्य भए । अन्तिम अबस्थामा आएर सरकारले गरेको यो अदुरदर्शी निर्णयले सबैमा एक किसिमको भय नै सृजना गर्‍यो । परन्तु कोरोनाको बिश्वब्यापी प्रभाबलाई मध्यनजर गर्दा त्यो निर्णय समय सान्दर्भिक नै मान्नुपर्ने थियो । त्यस्तैमा चैत्र ११ गतेबाट त मुलुक नै लकडाउनमा प्रबेश गर्‍यो ।

२. बिद्यमान अबस्था :-

अहिले सम्म SEE परिक्षाको मुल्यांकन सैद्धान्तिक र ब्यबहारिक दुबै खाले पद्धतिलाई आधार बनाएर गरिने गरिएको छ । अहिले कक्षा ९ सम्म राज्यले एक किसिमको उदार कक्षा नीति जस्तै अबलम्बन गरेको छ । विद्यार्थीहरु फेल भएर पनि उहीँ कक्षा दोहोर्‍याउनु पर्ने अबस्थामा छैनन । अहिलेको बिद्यालय स्तरको परिक्षा प्रणालीमा कक्षा १-३ सम्म निरन्तर मुल्यांकन पद्धति CAS (continious assessment system ) बाट मुल्यांकन गर्ने पद्धतिको बिकास भएको छ । कक्षा ८ को मुल्यांकन अहिले BLE को नाममा सम्बन्धित स्थानीय निकायहरुको जिम्मामा रहेको छ । बिद्यालय शिक्षाका बाकी कक्षाहरु ४,५,६,७ र ९ का परीक्षाहरु बिद्यालयहरुले Terminal Examination हरु लिएर तिनिहरुको Grand Total प्राप्तांकको आधारमा समष्टिगत मुल्यांकन गर्ने पद्धतिमा आधारित छ । पहिला कक्षा १० उत्तिर्ण गरिसकेपछी SLC लाई बिद्यालय शिक्षाको अन्तिम बिन्दु मानिन्थ्यो । त्यसैले पनि यसलाई फलामे ढोका भनिन्थ्थ्यो । समाजमा SLC पास गर्नु भनेको त एक किसिमले शिक्षित समुदायमा पर्नु सरह थियो । अहिले मुलुकमा SSR ( School sector reform) लागू भईसकेपछी बिद्यालय शिक्षाको पुनर्संरचना गरियो । कक्षा १-८ लाई आधारभुत तह र ९-१२ लाई माध्यमिक तह परिभाषित गरियो । अहिले पनि माध्यमिक तह अन्तर्गत कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय स्तरमा नै संचालन भैरहेको छ । अहिलेको SEE परीक्षा र हिजोको SLC परिक्षा संचालनको कार्यदिशामा आज पनि तात्बिक फरक केही देखिदैन । हिजो परिक्षाफल श्रेणी र प्रतिशतमा प्रकाशित हुन्थ्थ्यो भने अहिले ग्रेडसिटमा । SSR लागू हुन पूर्ब कक्षा १० को अन्तिममा सेन्ट अप टेष्ट परीक्षा हुन्थ्यो र सेन्ट अप टेस्ट परिक्षामा उत्तीर्ण विद्यार्थीहरु मात्रै SLC परिक्षामा समाबेश हुन पाउने ब्यबस्था थियो । अहिले कक्षा १० को अन्तिम परिक्षा राष्ट्रिय रुपमा SEE का रुपमा गरिने गरिएको छ । बिद्यालयहरुले Terminal Examination हरु गर्ने गरेतापनि तिनीहरुले विद्यार्थीहरुको मुल्यांकनमा खासै अर्थ राख्दैन । SEE परिक्षा पूर्ब अहिले संस्थागत बिद्यालयहरुले संस्थागत रुपमा PABSON , N – PABSAN का नाममा जिल्लागत रुपमा PRE-SEE परिक्षा संचालन गर्ने गराउने गरेका छन् । सामुदायिक बिद्यालयहरु केहिले PRE-SEE परिक्षाहरु संचालन गर्ने गर्दछन् भने केहिले त्यही पनि गराउदैनन् ।

त्यसैले सेन्ट अप टेष्ट परिक्षाको खारेजी सगै PRE-SEE परिक्षाको पनि बैधानिकता समाप्त भएको छ । अहिले बिद्यालयहरुले गर्ने PRE-SEE परीक्षा भनेको SEE परिक्षाको लागी तयारी परीक्षा मात्र हो । SEE परिक्षामा उत्तीर्ण भएकाहरुले मात्र कक्षा ११ मा भर्ना पाउन्छन् । कक्षा ११/१२ अहिले बिद्यालय शिक्षाका कक्षाका रुपमा विकसित भएका छन् । SSR लागु हुन पूर्ब हिजोसम्म कक्षा ११ र १२ को तहलाई उच्च माध्यमिक तह मानेर उच्च माध्यमिक शिक्षा परिषद् (HSEB) ले परीक्षा संचालन गर्दथ्थ्यो । अहिले आएर राष्ट्रिय परिक्षा बोर्ड ले बिद्यालय तहको कक्षा ११ र १२ भनेर परिक्षा संचालन गर्ने गर्दछ । हिजो सम्म उच्च माध्यमिक शिक्षा परिषदले संचालन गर्ने कक्षाहरु बिश्वबिद्यालयका प्रमाणपत्र तहको समुतल्य थिए भने अहिले बिश्वबिद्यालय तर्फका प्रमाणपत्र तह क्रमशः फेज आउट भएका छन् । त्यसले गर्दा पनि कक्षा १२लाई अहिले बिद्यालय तहको अन्तिम बिन्दु मान्न सकिन्छ । तर अफसोच अहिले पनि कक्षा ११ र १२ का कक्षाहरुमा विद्यार्थीहरुले बिद्यालय शिक्षाका रुपमा सम्बन्धित बिद्यालयमा आफ्नो इच्चाशक्ती बमोजिमका बिषयहरु पढ्न भने पाईरहेका छैनन् । SEE परिक्षाको नतिजाका आधारमा विभिन्न +२ कलेजहरु धाउदै प्रबेश परिक्षामा सहभागी भै प्रतिष्पर्धाका आधारमा महंगो शुल्कमा भर्ना पाउने गर्दछन् । यसले गर्दा नि हिजोको HSEB बाट संचालित १०+२ र अहिलेका +२ मा तात्बिक फरक केही पनि छैन् । तथापी १२ कक्षालाई बिद्यालय कक्षाको अन्तिम बिन्दु बनाउन सकिएमा भने राम्रै हुनेछ । अहिले SEE परिक्षालाई बिद्यालयको आन्तरिक मुल्यांकन बाट मुल्यांकन गरेर ग्रेडसिट उपलब्ध गराउने भन्ने सरकारको निर्णयले अहिलेका बिद्यालय स्तरका शैक्षिक प्रणाली ,मुल्यांकन पद्दती लगायत थुप्रै शैक्षिक गतिविधिमा तत्कालै सुधार ल्याउनुपर्ने हुन्छ । यसरी राज्यले यस निर्णयको प्रभाबको मुल्यांकन अहिलेको शैक्षिक पद्धतिलाई ब्यबहारिक ढंगबाट परिबर्तन गर्न सक्यो भने अहिलेको SEE परिक्षा स्थगितको निर्णयले खासै नकरात्मक प्रभाब पनि पार्दैन ।

३. विद्यार्थीहरुमा परीक्षा नहुदाको मनोबैज्ञानिक असर :-

कोरोना भाईरसको बिश्वब्यापी प्रभाब र नेपालमा पनि सङ्क्रमित हरुको संख्यामा आएको एकाएक बढोत्तरीले नेपालमा अन्यौलको वातावरण सृजना भैरहेको थियो । विश्व मानसमा पनि लकडाउनको प्रभाबले शिक्षालयहरु करिब करिब बन्द नै थिए । नेपालमा पनि परिक्षाको सम्मुखमा आएर स्थगित भएको परिक्षा लामो समयसम्म हुन नसकिरहेको परिप्रेक्ष्यमा विद्यार्थीहरुमा एक किसिमको मनोबैज्ञानिक असर पर्नु पनि स्वभाबिकै हो । जसले गर्दा सरकारले कि समयमै परिक्षा संचालन गराउने बाताबरण बनाउनु पर्ने थियो नत्र हो भने SEE परिक्षाको बिकल्पको बारेमा एउटा निर्णय गर्नु नै थियो । त्यसैको फलस्वरूप यस बर्षको SEE परिक्षाको खारेजी सगसगै बिद्यालयको आन्तरिक मुल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट दिने निर्णय सरकारले गर्‍यो । सरकारले SEE परीक्षा सहज र सुरक्षीत तबरबाट गर्न सकिने थुप्रै आधारहरु हुँदा हुँदै पनि यसरी एकाएक खारेजीको निर्णय गरिनुलाई कदापी राम्रो मान्न सकिदैन। अहिले समय र परिस्थितिले निम्त्याएको परिस्थितिजन्य निर्णय हो भनेर पनि सम्बन्धित सरोकारवाला हरु पन्छिन मिल्दैन । यसले अहिले SEE परिक्षामा सम्मिलित हुनुपर्ने ४,८२,२१९ जना विद्यार्थीहरुको भबिष्यमाथी एकातर्फ प्रत्यक्ष खेलबाड गर्दैछ भने अर्कोतर्फ SLC हुँदै SEE परिक्षा सम्म आईपुग्दा बिद्यालय स्तरको माध्यमिक शिक्षालाई स्वयं राज्यले नै धरासायी बनाउदैछ । विद्यार्थीहरुमा हुनुपर्ने पढाई तर्फको अगाध परिश्रम , मेहनत र चिन्तन लाई उपहास गराउने कार्य स्बयं राज्यले नै गरिरहेको छ । आजका विद्यार्थीहरु भोलीका भबिष्यका कर्णदार हुन । यिनै विद्यार्थीहरुले भोलीका दिनमा हजारौं अन्य प्रतिष्पर्धी हरु सग प्रत्येक क्षेत्रमा प्रतिष्पर्धा गर्नुपर्नेछ । यी सबै कुराहरुलाई कुल्चेर बेलाबखतमा राज्यले गर्ने यस्ता गलत निर्णयहरुले नेपालको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको उपलब्धि मुल्यांकनमा ठूलो प्रश्न चिन्ह खडा गर्ने गरेको छ । शिक्षा क्षेत्रमा हचुवाको भरमा गरिने यस्ता गैरजिम्मेवार निर्णयले बर्षौंबर्ष सम्म असर पारिरहेछ । अहिले पनि सरकारी सेवामा गरिने बिज्ञापनहरुमा SLC, SEE वा सो सरहको शैक्षिक योग्यता भनेर बिज्ञापन भैरहन्छन् । यस्ता बिज्ञापनमा हिजोको SLC का उत्पादन देखि लिएर आजका SEE का उत्त्पादनहरु सबै प्रतिस्पर्धामा रहन्छन् । यसरी एउटै प्रतिष्पर्धामा दुई बर्गबाट प्रमाणपत्र प्राप्त गरेका उमेद्द्वारहरुले भाग लिदा स्वभाबिक रुपमा बिना परीक्षा प्रमाणपत्र हातमा लिएका उमेदवारहरुलाई हिनता बोध हुन्छ । त्यसैले पनि यिनिहरुमा एक किसिमको मनोबैज्ञानिक असर परिरहने देखिन्छ । जसरी निजामती सेवामा निश्चित समयावधि पूरा गरेकालाई निजामती सेवा ऎन को दफा २४(घ) थपेर राज्यले एक तह बढुवा दिएको थियो ।

तिनलाई अहिले निजामती बृत्तमा २४(घ) का उपनामले उनीहरु माथिको दक्षतालाई लिएर प्रश्न चिन्ह खडा गर्ने गरिएको छ । त्यस्तै अहिलेका SEE उत्तीर्ण परिक्षार्थीहरुलाई पनि कोरोना ब्याच वा अन्य स्बत पास जस्ता उपनामले हरबखत समाजमा आलोचित नहोलान भन्न सकिँदैन ।

४. परीक्षा नहुदा आउनसक्ने चुनौतीहरु :-

शिक्षा ऎनमा SEE परिक्षा संचालन सन्दर्भमा प्रष्ट कानुनी ब्यबस्था रहेकोले सरकारको यो निर्णयले कानुनी प्राबधानको बर्खिलाप गरेको छ । • आन्तरिक मुल्यांकन गर्नको लागि विद्यार्थीको निरन्तर मुल्यांकन गर्न जरुरी छ । बिद्यालय तहमा निरन्तर मुल्यांकन पद्दती CAS (continious assessment system ) को बिकास नै नभएको हुँदा अब गरिने मुल्यांकनको औचित्यता रहने छैन। • बिना आधार गरिने आन्तरिक मुल्यांकनको बस्तुनिष्ठता र बैधानिकता माथि प्रश्न उठ्ने छन् । • अहिले पनि सरकारी सेवामा गरिने बिज्ञापनहरुमा SLC, SEE वा सो सरहको शैक्षिक योग्यता भनेर बिज्ञापन भैरहने हुँदा बिना परिक्षा आन्तरिक मुल्यांकनका आधारमा दिईने ग्रेडसिटले प्रतिष्पर्धामा असर पार्नेछ । • सबै बिद्यालयहरुलाई आफुलाई अब्बल साबित गर्न उच्चतम GPA (4.0) को लालस बढ्नेछ । • अभिभाबक एबं विद्यार्थीहरुले बिद्यालय एबं बिषय शिक्षकलाई उच्चतम GPA प्राप्त गर्न अनधिकृत रुपमा प्रयोग गर्न सक्नेछन् । • निजी बिद्यालयको सबालमा त विद्यार्थीहरुको समष्टिगत GPA बिद्यालय लगानीकर्ता र विद्यालय प्रशासकमा बढी मात्रामा निहित हुने हुँदा बिषय शिक्षकको भुमिका गौंण हुनेछ । • कक्षा ११ मा भर्ना पाउनको लागि अहिल्यै बाट विद्यार्थीहरु बृज कोर्स र entrance preparation का नाममा online class संचालन गराउने इन्टिच्युटहरुको शिकार बन्नेछन् । • ब्यक्तिगत मतभेद भएका कारण वा बिभेदपुर्ण ढंगबाट आन्तरिक मुल्यांकनमा कम अंक दिने बिद्यालय प्रशासक वा बिषय शिक्षकहरु विद्यार्थीको नजरमा तारो बन्नेछन् । कयौं ठाउँमा भौतिक आक्रमणको जोखिम समेत रहनेछ । • बिगतमा SEE परिक्षामा उच्चतम GPA ल्याउने विद्यार्थीहरुलाई बिज्ञापन गरेर ठूलो मात्रामा कक्षा ११ मा भर्ना लिने गरेका +२ हरुले entrance परिक्षाका नाममा झनै ठूलो आतंक मच्चाउने छन् । • गएको फाल्गुणमा परीक्षा नियन्त्रण कार्यालयले SEE परीक्षाkaa लागि बिद्यार्थीहरु सग लिईएको शुल्कको सम्बन्धमा पनि परिक्षा नभएको खण्डमा प्रश्न चिन्ह खडा हुन सक्नेछ ।

५. परीक्षा लिन सकिने आधार :-

अहिले मुलुक पुर्ण लकडाउनको अवस्थामा रहेको छैन् । अन्तरजिल्ला आवागमनमा कडाई गरिएको भएता पनि आफ्नो जिल्ला भित्र सिमित गतिबिधिहरु निर्बाध रुपमा संचालन गर्न दिईएको छ । यो अबस्थामा SEE परिक्षा पनि सहज रुपमा संचालन गर्न सकिने थियो । चैत्र ६ गतेबाट संचालन हुनुपर्ने परीक्षा परीक्षा शुरुहुनु पूर्व १० घण्टा अघि मात्र स्थगन भएकोले पनि सरकारी तबरबाट एक किसिमले परिक्षाको सम्पुर्ण तयारी भैसकेको थियो । प्रश्नपत्र छपाई , उत्तरपुस्तिका छ्पाई , उत्तरकुन्जिका निर्माण र छपाई , परीक्षा केन्द्र निर्धारण , केन्द्राध्यक्ष नियुक्ती लगायत परिक्षाको अनुगमन, संचालन र सुरक्षण सन्दर्भमा पनि सम्पुर्ण तयारी सकिएको थियो । यस्तो अबस्थामा परिक्षा स्थगन भएपछी पक्कै पनि प्रश्नपत्र र उत्तरपुस्तिका हरुको सुरक्षाको ब्यबस्था राष्ट्रिय परिक्षा बोर्डले गरेको नै हुनुपर्छ । प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षाको मुख्य जिम्मेवारी पनि राष्ट्रिय परीक्षा बोर्ड कै हो । त्यसैले अहिलेको अबस्थामा परीक्षा संचालन गर्दा पनि त्यही उत्तर पुस्तिका र त्यही प्रश्नपत्रहरु स्बभाबिक रुपमा प्रयोगमा ल्याउन सकिने अबस्था थियो । अहिलेको अबस्थामा परिक्षा संचालन गर्दा सोच्न पर्ने एकमात्र बिकल्प भनेको परिक्षा केन्द्रहरुको मात्र थियो । पूर्वनिर्धारित परीक्षा केन्द्रहरुमा अहिलेको अबस्थामा परिक्षा गर्दा कोरोनाको जोखिम पक्कै पनि रहन्छ । पूर्बनिर्धारित परीक्षा केन्द्रहरुमा परिक्षार्थीहरु आफ्नै घरबाट दैनिक रुपमा गएर परीक्षा दिन सक्ने भौतिक दुरी धेरै ठाउँहरुमा छैन । त्यसैले पनि परिक्षा दिन कै लागि विद्यार्थीहरुले बाध्य भएर नजिकैको होटल वा आफन्तहरुको साहरा लिनुपर्ने बाध्यता बिद्यमान थियो । यस्तो अबस्थामा सरकारले स्थानीय निकायहरुको सहयोग लिएर सम्बन्धित बिद्यालय ( होम सेन्टर ) लाई नै परीक्षा सेन्टर बनाएर सोही बिद्यालयका प्र.अ. लाई केन्द्राध्यक्षको जिम्मेवारी दिई सोही बिद्यालयका आधारभुत तहमा मात्र अध्यापन गराउने शिक्षक/ शिक्षिकाहरुलाई परीक्षा संचालनार्थ गार्डको रुपमा प्रयोग गर्ने गरि परीक्षा संचालन गर्न सकिने थियो । यसरी परीक्षा संचालन गराउदा विद्यार्थीहरुमा पनि कोरोनाको भय कम हुने थियो । थोरै विद्यार्थीहरुलाई लिएर परिक्षा संचालन गर्दा बिद्यालयहरुले पनि सुरक्षा सम्बन्धी उच्च सतर्कता उपनाउन सक्ने थिए ।

परीक्षा केन्द्रहरुको मूल गेटमा अनिबार्य रुपमा साबुन पानीको ब्यबस्था गर्ने , विद्यार्थी एबं शिकहकहरु बिद्यालय हाता भित्र प्रबेश गर्दा अनिबार्य रुपमा साबुन पानीले हात धुनु पर्ने , नाक मुख छोप्ने गरि अनिबार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने , विद्यार्थीहरु एबं परिक्षामा खटिने शिक्षक एबं कर्मचारीहरुले बेला बेलामा सेनिटाईजर लगाउनुपर्ने र परीक्षा संचालन गर्दा बिद्यालयमा भएका सबै कक्षा कोठाहरुलाई परीक्षा हलका रुपमा प्रयोगमा ल्याई विद्यार्थीहरु बीचको भौतिक दुरी बिश्व स्बास्थ्थ संगठनले भने जस्तै कम्तिमा २ मिटर कायम गर्ने गरि पनि परीक्षा संचालन गर्न सकिने थियो । यसरी परीक्षा दिलाउन सकेको भए विद्यार्थीहरुमा पनि एक किसिमको नयाँ उर्जा थपिने थियो । त्यस्तै विद्यार्थीहरुको मनोभावनामा लामो समयदेखि परिरहेको एक किसिमको अन्योलता र त्यसले परेको मनोबैज्ञानिक असरको पनि अन्त्य हुने थियो । त्यस्तै लामो समयदेखी लकडाउनमा रहेका शिक्षक कर्मचारीहरु पनि बिद्यालय गएर भाबी दिनमा कसरी कोबिड-१९ का बिरुद्द सुरक्षा सतर्कताअपनाएर भाबी दिनमा बिद्यालय संचालन गर्न सकिएला भन्ने सन्दर्भमा पनि परीक्षा संचालनको प्रयोगात्मक अबस्थाबाट केही हदमा सुशुचित हुने अबसर मिल्ने थियो ।

६. SEE खारेजी सगैं बिद्यालय शिक्षामा आउने अबसरहरु :-

• बिद्यालय शिक्षामा राज्यले अबलम्बन गर्न खोजेको उदार कक्षोन्नती पद्दती र निरन्तर मुल्यांकन पद्दतिको बिकासको लागि मार्गप्रशस्त हुनेछ । • बिद्यालय शिक्षाको अन्तिम गन्तव्य कक्षा १२ बनाउने उपर्युक्त अबसर बन्नेछ । • शहर बजारहरुमा +२ मा अध्यापन गर्न कलेज एबं बिश्वबिद्यालयहरु बाट स्थायी प्राध्यापकहरु हेलमेट टिचरको रुपमा १०+२ चाहर्ने गतिविधिहरुको अन्त्य हुनेछ । जसले गर्दा कलेज एबं बिश्वबिद्यालयको शैक्षिक गतिविधिमा समेत बढाबा पुग्नेछ । • विभिन्न आयोगहरुले विभिन्न कालखण्डमा दिएका प्रतिवेदनहरुमा तत्कालिन SLC हालको SEE परिक्षाको खारेजीलाई सुझाबको रुपमा दिइएको र खारेजी गर्न नसकेको अबस्थामा यो एउटा उपर्युक्त अबसर बन्न सक्ने छ । • शिक्षकहरुको प्राप्त दरबन्दी भएका र भौतिक पुबाधार प्रयाप्त हुँदा हुँदै पनि विद्यार्थीहरुको अभाबमा निकै कष्टप्रद ढंगबाट संचालन भैरहेका बिद्यालयहरु एकआपसमा समायोजन हुने एक अबसर प्राप्त हुनेछ । जसले गर्दा भोलिका दिनमा कक्षा १२ सम्म संचालन हुन नसक्ने १-१० संचालित बिद्यालयहरुलाई आधारभुत तह (१-८) मा सिमित राख्न र कक्षा ११/१२ संचालन गर्न सक्ने बिद्यालयहरुलाई अपग्रेडिड गरेर दरबन्दी मिलान गराउने एक उपर्युक्त अबसर समेत प्राप्त हुनेछ ।

७. सरकारका चुनौती एबं चाल्नुपर्ने न्युनतम कदमहरु :-

• आगामी दिनमा संघिय सरकारको मातहतबाट राष्ट्रिय परिक्षा बोर्डले संचालन गर्दै आईरहेको माध्यमिक शिक्षा परिक्षालाई अब बाट जिल्लास्तरिय रुपमा शिक्षा तथा समन्बय एकाईको मातहतबाट कक्षा १० को अन्तिम परिक्षाको रुपमा लिने ब्यबस्था गरिनु पर्दछ । • राष्ट्रिय परीक्षा बोर्डले हाल कक्षा ११ मा १२ मा लिदै आईरहेको परिक्षालाई भने कक्षा ११ को परीक्षा बिद्यालय आफैले संचालन गर्ने र कक्षा १२ को अन्तिम परीक्षा प्रदेश सरकारको समन्बयमा संघिय सरकारले बिद्यालय स्तरको अन्तिम परिक्षाका रुपमा राष्ट्रिय रुपमा नै लिने ब्यबस्था गर्नुपर्नेछ । • हाल सम्म निजामती, शिक्षा सेवा लगायत सरकारी सेवामा हिजोसम्म न्युनतम योग्यता SEE उत्तीर्ण वा सो सरह भनेर गरिने बिज्ञापनहरुमा अब देखि कक्षा १२ उत्तीर्ण वा सो सरह भनेर गरिने प्राबधानको ब्यबस्था गरिनुपर्दछ । • बिद्यालय शिक्षामा एउटै बिद्यालयबाट विद्यार्थीहरुले कक्षा ९-१२ सम्म निरन्तर अध्ययन गर्नु पर्ने ब्यबस्था गरिदा हाल व्यावसायिक रुपमा संचालन गरिएका +२ हरुका संचालकहरुको चलखेल व्यापक हुने हुदा त्यस्ता चलखेललाई सरकारले परास्त गर्न सक्नुपर्नेछ । • अहिले पनि अधिकांश बिश्वबिद्यालय र कलेजहरुमा स्थायी अध्यापन गर्ने प्राध्यापकहरु केहि को बिद्यालयमा र अधिकांशहरुको बिद्यालय स्तरको +२ मा मात्र लगानी भएको अबस्था बिद्यमान छ । बिद्यालय स्तरको +२ पुर्णतः नाफामुखी व्यापार भएका कारणले त्यस्ता लगानीकर्ता शिक्षाबिद्हरुको व्यापक बिरोध सरकारले खेप्नु पर्नेछ ।

८. निष्कर्ष :- यस बर्षको SEE परिक्षा स्थगित गरेर बिद्यालयको आन्तरिक मुल्यांकन बाट विद्यार्थीहरुलाई ग्रेडसिट उपलब्ध गराउने निर्णय सरकारका लागि सधैंका लागि SEE परीक्षा खारेजी गर्न सकिने एक उपर्युक्त अबसर बन्नेछ । यदि यस बर्ष मात्र कोरोनाको कारण देखाएर SEE परिक्षा बिद्यालयको आन्तरिक मुल्यांकन बाट गराउने र आगामी बर्षहरुमा नियमित रुपमा पुरानै पद्धति बाट गर्ने गराउने हो भने यसले यस बर्षका ब्याचका परिक्षार्थीहरुको शैक्षिक उपलब्धिमा जिन्दगीभर कालो दाग लाग्नेछ । अन्यथा सरकारले माथी उल्लेख गरिए बमोजिमका शैक्षिक सुधार गर्न सकेमा यो निर्णयले बिद्यालय शिक्षाको संरचना अन्तर्गत १-८ आधारभुत तह र ९-१२ माध्यमिक तह लाई मुर्त रुप दिने यो एक उपर्युक्त अबसर बन्नेछ । बिद्यालयहरुमा निरन्तर मुल्यांकन पद्दती (CAS) बाट विद्यार्थीहरुको मुल्यांकन गराउने पद्धतिको बिकास हुनेछ । बिद्यालय शिक्षामा कक्षा १२ को रजिष्ट्रेसन एउटै बिद्यालयबाट कक्षा ९ मा हुने ब्यबस्थाको सुरुवात हुनेछ । अनियन्त्रित रुपमा नाफाखोर पद्धतिका रुपमा खोलिएका +२ हरु पुर्णतः नियन्त्रीत हुनेछन् ।