आधुनिक विकासको नाममा विदेशी निर्माण पद्धति हावी भएपछि सम्पदा नासियाे

१८ भाद्र २०७७, बिहीबार

पाेखरा।

नेपाली परिचयको सम्वाहक मौलिक वास्तुकला सुन्दर, सुरक्षित, पर्यावरण मैत्री, स्वस्थ्य र मितव्ययी भएर पनि शून्य निर्माण हुनु चिन्ताजनक भएको मौलिक वास्तुकला विद्हरुले बताउनु भएको छ । सहृदयता समाज नेपालको आयोजना तथा सहृदय उद्यमशीलता प्रालिको सह अयोजनामा बुधवार सम्पन्न मौलिक वास्तुकलामा निहित ज्ञानपरम्परा विषयक सत्संगमा सम्पदा विद्हरुले उक्त धारणा राख्नु भएको हो । सत्संगका प्रमुख वक्ता सम्पदा संरक्षण विद् रविन्द्र पुरीले काठमाडौँ उपत्यकाको सम्पदा कम्तिमा पनि संसारको १० उत्कृष्ट सम्पदामा भित्र पर्ने बताउनुभयो ।

यसको संरक्षण गर्नु पर्ने निकाय नै यसको भक्षक भएको कारण धेरै सम्पदा विनास भएको बताउनुभयो । आधुनिक विकासको नाममा विदेशी निर्माण पद्धति हावी भएपछि ९० देखि ९५ प्रतिशत सम्पदा नासिएको उहाँले बताउनुभयो । सम्पदा संरक्षरण र मौलिक बास्तुकलाको प्रवर्धन गर्ने कुरा खोक्रो देशभक्ति नभएको बताउँदै विज्ञान सम्मत र प्रामाणिक भएको बताउनुभयो । वास्तुशास्त्रले सौर्य, चुमवकीय र ब्रह्माण्डीय उर्जालाई घरसँग जोडने बताउँदै पुरीले हामो मौलिक वास्तु परम्परामा विश्वलाई दिने धेरै ज्ञानराशी भएको चर्चा गर्नुभयो । आफू इन्जिनियर तथा नक्सा सम्बन्धी अध्ययनको पृष्ठभूमिको नभए पनि काठमाडौँ उपत्यकामा भइरहेको संम्पदाको नृशंस विनास सहन नसकेर यसको संरक्षणको लागि यस क्षेत्रमा होमिएको बताउनुभयो । न्यातापोल (पाँचतल्ले मन्दिर)ले कम्तीमा पनि पाँचवटा महाभुकम्प थेगेर जुँकात्युँ उभिनु नै मौलिक वास्तुकला कति सुरक्षित छ भन्ने प्रमाण भएको पुरीले बताउनुभयो । मौलिक वास्तुपद्धतिमा जग देखि धुरी सम्मको सबै संरचना एक आपसमा अन्तरसम्बन्धित बनाएर लचकतामा जोड दिइएको हुन्छ । तर आधुनिकताको नाममा बाहिरबाट ल्याइएका प्रविधि लचकता भन्दा पनि कठोरतामा आधारित निर्माण पद्धति भएको कारण भुकम्पीय दृष्टिकोणले मौलिक वास्तुकला नै अब्बल भएको पुरीले बताउनु भयो । मौलिक वास्तुकलामा शत प्रतिशत स्थानीय रुपमा उपलब्ध प्राकृतिक सामगीको प्रयोग हुन्छ । माटो, काठ, इँटा, ढंगा लगायतका सामग्री पर्यावरण मैत्री र दिगो भएको कारण समग्र विश्वलाई फाइदा गर्छ । कुनै पनि प्रकारको हानीकारक रसायनको प्रयोग नहुने भएको यो कारण स्वस्थ्य पनि छ । आधुनिकताको नाममा आएको निर्माण लाई पोलिस्टर कपडाको संज्ञा दिँदै पुरीले मौलिक वास्तुकलाबाट बनेको घरमा बस्नु शरीरमा शत प्रतिशत कपासको लुुगा लगाउनु जस्तै भएको बताउनुभयो । विदेशमा लिड मुक्त पेन्टको अवधारणा आइसकेपनि नेपालमा यस प्रति चासो नभएकोमा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गर्नुभयो । मौलिक वास्तुकलाले राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्छ । स्वदेशी निमार्ण सामग्रीको प्रयोग हुने भएको कारण यसले आयातमुखी अर्थतन्त्रलाई सुधार गरी आत्म निर्भर बनाउने पनि पुरीले बताउनुभयो । कंक्रिटका घर हेर्न पर्यटक नआएने बताउँदै मौलिक वास्तुकलाको प्रवर्धनले पर्यटनको विकासमा पनि योगदान गर्ने पुरीले बताउनुभयो ।

मौलिक वास्तुकला महँगो हुन्छ भन्ने गलत मानसिकता रहेको बताउँदै सादा निर्माण गर्दा यसको लागत न्यूनतम हुने बताउनुभयो । सत्संगमा विशिष्ट वक्ताको रुपमा आफ्नो मन्तव्य राख्नुहँुदै मेथड कन्सल्टका इन्जिनियर तुल्सीलाल बासुकलाले मौलिक वास्तुकलाको प्रयोगबाट शुन्य बराबरको निर्माण हुनुमा सरकारको गलत नीति दोषी रहेको बताउनुभयो । आफ्नो सभ्यता भुलेर पिलरवाला घर हुनुलाई आफ्नो प्रतिष्ठा सँग जोड्ने मानसिकताले मौलिक वास्तुकला बारेको अनभिज्ञता उजागर गरेको बताउनुभयो । यस प्रकारको प्रवृत्ति हाम्रो सभ्यतालाई मासेर मारेर हामी आफै मलामी जानु जस्तै भएको बासुकलाले बताउनुभयो । सरकारी स्तरबाट कुनै पनि नयाँ निर्माण मौलिक वास्तुकलाबाट नहुनु खेदजनक भएको बताउँदै भुकम्प प्रतिरोधी निर्माणको नीतिमा पनि मौलिक वास्तुकलालाई उपेक्षा गरिनु आपत्तिजनक भएको बासुकलाले बताउनुभयो ।

विद्यालय तथा विश्वविद्यालयको पाठयपुस्तकमा मौलिक वास्तुकलाको महत्व उजागर गरेर यसको पुनर्जागरण गर्न दत्तचित्त भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै आयोजक सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापतिले जरो किलो महाअभियानले नेपालको मौलिक दर्शन र ज्ञान परम्परालाई मूलप्रवाहिकरण गर्न क्रियाशिल रहेको बताउनुभयो । सहआयोजक सहृदयता उद्यमशीलता प्रालिका प्रबन्ध निर्देशक कृष्णराम प्रजापतिले मौलिक वास्तुकलाको प्रवर्धनले नेपालको मौलिक प्रविधिको पुनर्जागरण गर्ने र देशलाई आत्मनर्भिर बनाएर आर्थिक उन्नतिमा टेवा पुर्याउने बताउनुभयो । कार्यक्रममा सहृदयता समाज नेपालका सचिव रविन गाइँजूले जरो किलो महाअभियानको आधारशिला चतुष्टय विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धको मार्ग चित्रले समाज, राष्ट्र र सारा विश्वको कल्याण गर्ने बताउनुभयो । कोरोना कहरलाई ध्यानमा राखेर कार्यक्रम जुम प्रविधिबाट सञ्चालन गरिएको थियो ।

 

 

 

Leave a Reply