पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सहित सदस्यहरुले गरे सपथ ग्रहण

१९ फाल्गुन २०७७, बुधबार

 

पोखरा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।

देश संघीय संरचनामा गएपछि पहिलो पटक पोखरा महनगरले प्रज्ञा प्रतिष्ठान ऐन ल्याएको थियो । पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा पोखरा प्रज्ञा प्रतिष्ठानका  पदमराजढकाल कुलपति र अन्य ६ जना सदस्यमा नियुक्त भएका थिए । समितिले ११ जनाको नाम सिफारिस गरेको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति  ढकाललाई सपथ गराएका थिए भने कुलपति ढकालले सदस्यहरुलाई सपथ गराए ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवयत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् । प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ ।

११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् । जसमा महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले पोखरा महानगर भित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वद्र्धन गर्न प्रतिष्ठान स्थापना गरेको बताउनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले विशेष गरी गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताउनुभयो ।

नव नियुक्त कुलपति पदमराज ढकालले  पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठान गठन गर्नु पोखरा महानगरपालिकाको ऐतिहासिक कदम भएको बताउनुभयो । पोखराको कला, साहित्य, संगीत र संस्कृति संरक्षणमा प्रज्ञा प्रतिष्ठान कोषेढुंगा सावित हुने उहाँको भनाई थियो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सिफारिस समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल, सदस्य मनकुमार श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठानको बारेमा बोलेका थिए । सिफारिस समितिमा वडा नम्बर ७ का अध्यक्ष बराल संयोजक, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल र विज्ञका रुपमा मनकुमार श्रेष्ठ सदस्य थिए ।

 

Leave a Reply