पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । विपक्षी दलहरुले अविस्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यस अघि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सहित मुख्यमन्त्रीको दावी पेश गरे पनि जनमोर्चाका दुई सांसद कृष्ण थापा र खीम विक्रम शाहीले आफ्नो समर्थन नरहेको पत्र दिए पछि प्रदेश प्रमुखलाई गुरुङलाई नै ठूलो दलको हैसियतमा मुख्यमंत्री बनाउने बाटो खुलेको हो । यसअघी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४ दलले हस्ताक्षर बुझाएका थिए ।
जसमा ३० सांसदको हस्ताक्षर छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा सो मत बहुमतका लागि पर्याप्त नभएपछि प्रदेश प्रमुखले ठूलो दलको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीको नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।