पाेखरा। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।
उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।
मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
शक्रबारको विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्री विहीन रहे । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् ।
हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।