आइसोलेसन अनुभवः म एउटा खतरनाक हतियार

४ असार २०७८, शुक्रबार

कविता पन्थी

२० दिनपछि हरियो दुवोमा बिनामास्क हिँड्दै गर्दा आफुलाई निक्कै भाग्यमानी ठान्दैछु । सानी छोरीको कपाल र गाला मुसार्दै गर्दा आँखाबाट खुशीका आँशु खसे । अझै पनि उसलाई मेरो नजिक आउन डर छ । साना साना पैताला उसका ! म टाढैबाट हेरिरहन्थेँ । कोभिड पोजेटिभ हुँ भनेदेखि नै ती पैतालाहरु आमाविहिन यात्रा गर्न बाध्य हुन्छन् कि भन्ने डर लागिरह्यो ।

सामान्य जरो देखिएपछि समय अनुसार कोभिड टेस्ट गर्नैपर्यो । कडा स्वास्थ्य सुरक्षा सावधानीमा रहँदारहँदै पनि त्यो भाइरस शरीरभित्र कसरी पस्यो पत्तै भएन । त्योसँगै मेरो आइसोलेसनको बसाइ शुरु भयो । यो समय मेरो लागि शारिरिक रुपमा पीडाजनक त रह्यो नै, त्यो भन्दा धेरै मानसिक रुपमा विचलित बनायो ।

सुचना प्रविधिले सम्पुर्ण विश्वलाई एउटा गाउँ बनाएको छ । एकान्तवासलाई सहज बनाउन यो एकातिर एकदम सहयोगी रह्यो नै तर निराशाको घोर अन्धकारमा पनि यसले लग्यो । गत वर्षको तुलनामा यो वर्षको कोरोना कहरले ज्यादै आक्रामक रुप लियो । टाढाटाढाका घटनाले भन्दा नजिकैका घटनाहरूले द्रविभूत बनाउँदा रहेछन् । शुरुवाती दिनमा त अक्सिजन र अस्पतालको अभाव देखियो । मानिस अत्तालिए, घरमै अक्सिजनको जोहोका लागि सिलिण्डर राख्न थाले । संचारमाध्यममा यीबाहेक समाचारै आउन छाडे । दैनिक संक्रमणको दर बढेको, मृत्युदर बढेको, समस्याग्रस्त मानिसहरुका दुःख पिडाका स्वरले संचारमाध्यम भरिए । अस्पतालमा ठाउँ, अक्सिजन, आइसियु र भेन्टिलेटर पाउन पनि पहुँचवालाको भर पर्नुपर्ने स्थिति आयो । गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरु हेलिकप्टरमा ओसार्नु पर्ने भयो ।

नजिकका, चिनेजानेका, प्रियजनहरुको निरन्तर आउने मृत्युका खबरले मन व्याकुल बन्यो । सामाजिक संजालका पृष्ठहरु श्रद्धाञ्जलीका फोटोहरुले भरिए । न बिरामीलाई भेट्न पाउनु, न आफन्तको निधनपछि पीडामा रहेका परिवारजनमा समवेदना दिन जाने अवस्था हुनु, कहिल्यै नसोचेको त्रासद समय भोगियो । कैंयौं परिवारमा एकैपटक महामारीले धेरै सदस्यको ज्यान लग्यो । दाहसंस्कार प्रकृयाले पनि आतंकित बनायो । महामारीले यस्तो ताण्डव मच्चाइरहेको समयमा नै मेरो शरीरमा पनि भाइरस पस्यो । आफै एउटा खतरनाक हतियार बनियो, परिवारका सदस्यहरुदेखि दुरी कायम राख्नुपर्यो । एकदम सतर्कता अपनाउनु पर्यो । समयसमयमा अक्सिजन लेभल र शरिरको तापक्रम जाँचिरहनुपर्यो । तलमाथि भयो भने अस्पताल, आइसियु, भेन्टिलेटर … भयले मन काम्थ्यो । समय फुर्सदिलो तर कुनै सृजनात्मक काम गर्न मन लागेन ।बाँच्ने, नबाँच्ने आफ्नो हातमा नभए पनि बाँच्न मन लाग्ने । दिन त जसरी तसरी जाने, रात पट्यारलाग्दो हुने । दिनभरिका पीडाजन्य समाचारले तर्साइरहने ।

मानिसको सुखदुःखको कारक मन नै हो । यो मनलाई जतिसुकै बलियो बनाउन खोजे पनि, टाउकोमाथि महामारीरुपी काल मडारिरहँदा मन आतंकित बन्दोरहेछ । राती निन्द्रा नपरेपछि पटकपटक अक्सिजन र तापक्रम नाप्न मन लागिरहने । पछि बहिनीको सल्लाहमा मोवाइलमा योगनिन्द्रा लगाएर सु्त्नथालेँ ।

जब अलि सन्चो भयो भन्ने लाग्यो, तब खोकीले हैरान पार्यो । आएका फोन पनि उठाउन सक्ने स्थिति भएन ।

सकारात्मक सोच प्रतिकुल परिस्थितिमा लड्ने बलियो हतियार हो ।

जतिसुकै सकारात्मक हुन खोजे पनि समयको प्रतिकुलताका कारण हारिँदोरहेछ । जीवनको अनिश्चितता जान्दाजान्दै पनि बाँच्ने लालसा लाग्दोरहेछ । सामान्य लाग्ने यो विषाणुले वर्षैपिच्छे हामीलाई आक्रमण गरिरहेछ । दिनहुँ सुनिने घटनाहरूले मनलाई जति आहत पारे पनि सत्य स्विकार्नुको विकल्प केही छैन ।

त्रासदीको यो समयमा पनि देशमा भएका, गरिएका राजनैतिक खिचातानीका क्रियाकलापहरूले मन खिन्न पार्यो । जनताका प्रतिनिधिले जनताका समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने थियो । आफू बिरामी भएर बसेपछि बल्ल बिरामीको पिडा बुझेँ मैले । कोभिड पोजेटिभलाई हेर्ने दृष्टिकोण राम्रो छैन ।देख्दैमा, बोल्दैमा कोभिड सर्दैन नि । श्वासप्रश्वासमा समस्या ननिम्तिदासम्म त यो सामान्य रुघाखोकी त हो नि । संचारमाध्यममा आउने समाचारहरु, सामाजिक संजालका भित्तामा आउने र नकारात्मक कुराहरुले निश्चित रुपमा मनोबल गिराउने काम गर्छन् । संचारमाध्यमहरु मानिसका सुखदुःखका सहयात्री मान्छौ हामी।, संचारमाध्यमहरुले यस्तो राष्ट्रिय विपत्तिको अवस्था नै किन नहोस्, नकारात्मकताभित्र सकारात्मकता खोजिदिए कति राम्रो हुने थियो ।
साना साना आशाहरुले निराश मनमा आशाको दियो जलाउँछन् ।आ शाले मनोबल बढाउँछ ।
२०७४सालको साउन महिनामा विपश्यना ध्यान गरेकी थिएँ मैले, आइसोलेसनको बसाइ पनि केही हिसाबले उस्तै लाग्यो। विपश्यना मेरो रहर, आइसोलेसन बाध्यता। विपश्यनामा जीवनलाई विशेष किसिमले बुझिन्छ भने आइसोलेसनको बसाइमा शिरमाथि कोभिडको सङ्क्रामक जिवाणु बोकेर जीवन बुझ्ने अवसर मिल्दो रहेछ । कोभिडको कारण मृत्युले ताण्डव मच्चाइरहेको बेलामा सोही रोग लागेको मान्छेले जीवन र मृत्यु अनि आफ्नो झिनो अस्तित्व नबुझे कहिले बुझ्ने ? निषेधाज्ञाको समयमा जसरी हामी विगतका रमाइला दिनहरु सम्झन्छौ, त्यसरी नै हामी आइसोलेसनमा आफ्ना प्रियजनहरुको सामिप्य खोज्दारहेछौं । त्यो आड, त्यो भरोसा र सकारात्मक काउन्सिलिङले मन खुशी हुन्छ नि । मेरो आइसोलेसनको बसाइमा मलाई यहाँहरुले दिएको माया र सल्लाहले मेरो जीवनी शक्ति बढाउने काम गरे । चिकित्सकीय सल्लाह त झनै महत्वपूर्ण हुने नै भयो ।

लामो समयपछि हरियो दुवोको स्पर्श गर्न पाउँदा वा मास्क खोलेर खुला हावामा विचरण गर्न पाउँदा खुशी त यिनै ससाना कुरामा पो लुकेको हुँदोरहेछ भन्ने जीवनबोध भएको छ । कोभिडजस्ता समस्याहरु हाम्रो जीवनमा आइ नै रहन्छन् । यस्ता समस्यासँग जुध्नु नै जीवनको वास्तविकता हो ।

 

 

Leave a Reply