नेपालबाट कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे कतार सरकारको नयाँ नियममा  यस्तो छ प्रावधान

१० श्रावण २०७८, आईतवार

 

पाेखरा।  वैदेशिक रोजगारी या अन्य कामले कतार प्रवेश गर्ने नेपालीले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कतार सरकारले आफ्नो मुलुक प्रवेशबारे हालै जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने छ।

यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ।

कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्न नपर्ने भएको छ।

दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड/अक्सफोर्ड) र जान्सेन -जोन्सन एण्ड जोन्सन)को खोपलाई मात्र कतारमा मान्यता दिइएको छ । यी खोपको मात्रा पुरा गरेको १४ दिन पछि खोप लगाएको प्रमाणपत्र प्राप्त यात्रुले कतारमा क्वारेन्टिन बस्नुनपर्ने भएको हो।

खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र हुनुपर्छ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम/प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर खोप लगाउने निकायको छाप हुनुपर्ने दूतावासले जनाएको छ । सिनोर्फम खोप लगाएका व्यक्तिले भने उनीहरुको एण्टिबडी परीक्षण गरिने छ । यदि पोजिटिभ देखिएमा क्वारेन्टिन बस्नुनपर्ने तथा नेगेटिभ देखिएमा होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ।

कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुनपर्ने भएको छ।

खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ।

Leave a Reply