पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा

१६ श्रावण २०७८, शनिबार

सन्तोष बस्याल
पोखरा  ।  पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी सो प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए । ‘जिल्लास्तरको प्रतियोगिता अहिले भइरहेको छ । सो प्रतियोगिता सकिएपश्चात प्रदेशस्तरीय प्रतियोगिता गर्छौं । ७ वटै प्रदेशबाट छानिएका खेलाडीहरुले नेशनल च्याम्पिनसीपका लागि भिड्नेछन् ।’, उनले भने ।

अध्यक्ष पाण्डेले प्रतियोगितामा २० देखि ३० वर्ष उमेरसमूहका महिला पुरुष खेलाडीको सहभागिता हुने बताए । उनका अनुसार प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद एक लाख रुपैयाँ र पदक सहित पुरस्कृत गरिनेछ । यस्तै उपविजेताले नगद २५ हजार रुपैयाँ र पदक प्राप्त गर्नेछ । करिब ३ सय खेलाडी क्लोज क्याम्पमा बसेर प्रशिक्षण लिइरहेको भनाइ उनको छ । एक स्थानीय निकायमा एक सय खेलाडी उत्पादन गर्ने गरी संघले आफ्नो गतिविधिलाई तिव्रता दिएको पाण्डेले बताए ।

उनले अहिले सम्म राज्यबाट वा बाह्य संघसंस्थाबाट रकम लिएर आफुहरु परिचालित नभएको जानकारी गराए । संघमा आबद्ध भएका सदस्यहरु मार्फत नै रकम उठाएर कार्यालय संचालन गरिरहेको भनाई उनको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) मा आबद्ध संस्था भएकाले आगामी दिनमा भने राज्यसँग पनि समन्वय गरी खेलकुदका गतिविधिलाई निरन्तरता दिने योजनामा संघ रहेको उनले बताए । केन्पो एक मार्सल आर्ट भित्रकै खेल भएको पाण्डेले बताए । नेपालीको सान खुकुरीको प्रचारप्रसारमा टेवा पु¥याउन उक्त खेल मार्फत मदत पुग्ने विश्वास उनको छ ।

नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको गठन भएको चार वर्ष पुग्यो । यसघडि संघले संगठन विस्तारलाई तिव्रता दिएको छ । संघका सचिव एवं प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले हालसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा संगठन विस्तार गरिएको जानकारी गराए । प्रदेश मातहतका जिल्लामा समेत संगठन विस्तार भएको र आगामी दिनमा ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने योजनामा संघ छ । गुरुङले नेपालका लागि केन्पो नयाँ खेल भएकाले अहिले आफुहरुले खेलाडी उत्पादनमा जोड दिएको बताए ।

नेपाल केन्पो खुकुरी मार्शल आटर्स केन्द्रीय संघको पोखरामा बसेको चौथो विस्तारित बैठकले गण्डकी प्रदेशको नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु पुन, वरिष्ठ उपाध्यक्ष मनोज खड्का, उपाध्यक्ष तारा शर्मा, उपाध्यक्ष शान्तसिंह बस्नेत, उपाध्यक्षमा खेम गुरुङ, उपाध्यक्षमा हरिराज कोइराला, महासचिवमा सन्दीप कोइराला, सचिवमा, विष्णु पोखरेल, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल र सदस्यहरुमा दिपेन्द्र शर्मा, गोविन्द भुसाल, विष्णु हरि भुगाई, श्रीकृष्ण पौडेल, दिनेश केसी, बल बहादुर सुनार (अमन), दिपेन्द्र अधिकारी, ऋषि बस्नेत, मोहम्मद जुमार अलि रहने निर्णय गरेको छ । कानुनी सल्लाहकारमा कुञ्जनी परियार ‘प्यासी’ लाई राखिएको छ ।

Leave a Reply