संघवाट कानुन निर्माणमा ढिलाइ हुँदा प्रदेशले बनाएका कानुन कार्यान्वयनमा समस्या भयाे :मन्त्री थापा

२५ श्रावण २०७८, सोमबार

 

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार, प्रदेशसभामा मामिला मन्त्री बिन्दुकुमार थापाले संघवाट कानुन निर्माणमा ढिलाइ हुँदा प्रदेशले बनाएका कानुन कार्यान्वयनमा समस्या भएको बताएका छन्।

उच्च अदालत बार एसोसिएसन, पोखराले आइतबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । प्रदेशसभाले हालसम्म ४८ कानुन निर्माण गरिसकेको जानकारी दिँदै मन्त्री थापाले संघबाट कानुन निर्माणमा ढिलाइ हुँदा प्रदेशले बनाएका कानुन कार्यान्वनयमा समस्या र अड्चन रहेको  बताए ।

उनले सरकारले हाल बनेको कानुनको पुनरावेदनका लागि ५ सदस्यीय समिति पनि गठन गरेको जानकारी दिँदै आवश्यकता अनुसार कानुन संशोधन गरिने बताए । उच्च अदालत बार एसोसिएसनका सदस्य समेत रहेका मन्त्री थापाले प्रदेशले बनाउने कानुनमा बारको पनि भूमिका र समन्वय महत्त्वपूर्ण रहने बताए ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कानुन निर्माणदेखि  कानुन कार्यान्वयन, शान्ति सुव्यवस्थाको विषयमा आफू प्रतिबद्ध रहेको बताए । बारका पूर्व अध्यक्ष समेत रहेका बास्तोलाले  प्रदेश सरकारको कामकारबाही सफल पार्न बारको पनि सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा उच्च अदालतका न्यायाधीश बालकृष्ण उप्रेती, नेपाल बार एसोसिएसन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, उच्च अदालत बार एसोसिएनका पूर्व अध्यक्ष फणीन्द्र कोइराला, वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, उच्च बार महिला शाखा संयोजक वीनिता नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उच्च अदालत बार एसोसिएसन पोखराले हालै मन्त्री र न्यायाधिवक्तामा नियुक्त क्रमशः थापा र बास्तोलालाई बधाई दिंदै सरुवा भइ आएका उच्च अदालतका ४ जना न्यायाधीशको स्वागतमा सो कार्यक्रम गरेको हो । उच्च अदालतमा न्यायाधीश उप्रेतीसहित उज्ज्वल शुक्ल, ऋषिराज भण्डारी र श्रीधराकुमारी पुडासैनी हालै सरुवा भइ आएका हुन् ।

कार्यक्रममा उच्च अदालत बार एसोसिएसन पोखरा अध्यक्ष नारायणप्रसाद पौडेलले हालै सरुवा भइ आएका न्यायाधीशबाट न्याय सम्पादन छिटोछरितोमा विश्वास व्यक्त गर्दै मन्त्री थापा र न्यायाधिवक्ता बास्तोलालाई सफल कार्यकालको शुभकामना दिए ।
बार अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बार एसोसिएसन कास्की अध्यक्ष मुक्तिनाथ सापकोटाले स्वागत र उच्च बारका सचिव सन्तोष अधिकारीले सञ्चालन गरेका थिए ।

 

Leave a Reply