टेलिकमलाई मन्त्री थापाको निर्देशन : उपभोक्तालाई छिटोछरितो सेवा प्रदान गरौं

१७ भाद्र २०७८, बिहीबार

पोखरा । गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तन सँगै सेवामा समेत परिवर्तन हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको हो । उहाँले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भएपनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गर्नुभयो ।

‘पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास सँगै हामी पनि परिवर्तशील भएका छौं  । घरमै बसेर अनलाइनका माध्यम महशुल तिर्न सक्ने व्यवस्था भएको छ ।’, उहाँले भन्नुभयो ।

मन्त्री थापाले आफ्नो मन्त्रालयले संचार क्षेत्रलाई समेत हेर्ने भएकाले धेरै योजनाहरु तय भएको र त्यसको कार्यान्वयनका लागि सबैको सल्लाह, सुझावको अपेक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले सुुचना संचार सम्बन्धित केही योजनाहरु अगाडि सारेको छ । बजेट समेत विनियोजन भएको अवस्था छ । त्यसलाई पुरा गर्न प्राविधिक साथीहरुसँग पनि हामीले अवश्य छलफल गर्नेछौं ।’

गण्डकी प्रदेश सरकारको गौरवको योजना आइटी पार्कलाई सार्थकता दिने गरी कार्य प्रारम्भ भइसकेको मन्त्री थापाले बताउनुभयो । पार्कको व्यवस्थापनमा नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने विश्वास उहाँको छ ।

गण्डकी प्रदेश भित्रका सरकारी कार्यालयहरुको डाटाहरुलाई सुरक्षित राख्ने गरी डाटा सेन्टरको समेत प्रदेश सरकारले स्थापना गर्न लागेको मन्त्री थापाले जानकारी गराउनुभयो । उक्त कार्यलाई उपयुक्त ठाउँको पहिचान गरी सफल बनाउन सबैको सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।  आइटी भिलेज निर्माणको योजनालाई समेत मन्त्रालयले अगाडि सारेको छ ।

मन्त्री थापाले नेपाल टेलिकमको कार्यालय व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले गण्डकी प्रदेशका हरेक जिल्लामा ‘फोरजी’ र ‘एफटीटीएच’ को सेवा सहज ढंगले उपलब्ध गराउन, डाटा र भ्वाईसको गुणस्तरतामा जोड दिन टेलिकमलाई निर्देशन दिनुभएको छ ।  हरेक नाफामुलक संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै थप जिम्मेवार भई गुणस्तरिय र सर्वसुलभ सेवा प्रदान गर्ने भएकाले त्यस तर्फ समेत ध्यान दिन नेपाल टेलिकमलाई उहाँको आग्रह छ ।  नागरिकका समस्यालाई सहज र सरल ढंगले समाधान गर्ने हेतुका साथ दुरसंचार सेवा प्रदायक संस्थाले प्रदान गर्ने गरेका सेवाको गुणस्तरीयतालाई प्रभावकारी बनाउँदै लैजानुपर्छ आवश्यकतालाई उहाँले औंल्याउनुभयो ।

नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले हाल टेलिकममा १९५ जना कर्मचारी रहेको जानकारी गराउनुभयो । आफुहरुले  अहिले एडीएसएल, एफटीटीएच, फोरजी सेवा प्रदान गर्दै आएको भनाई उहाँको छ । प्रदेशका हरेक जिल्लामा टेलिफोन टावरलाई समेत व्यवस्थित गर्दै लगिएको उहाँले बताउनुभयो । ‘ कभरेज कम भएका प्रदेशका जिल्लाहरुमा सर्भे गरी कभरेज बढाउँदै लगेका छौं । नागरिकको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढीरहेका छौं ।’, उहाँले भन्नुभयो ।

४७७ वटा फोरजी साइडहरुमा ४१८ वटा साइडहरु संचालनमा रहेको जानकारी गराउँदै निर्देशक यादवले अहिले फोरजी, एफटीटीएचलाई नै विशेष जोड गरिएको बताउनुभयो ।

Leave a Reply