पल शाह प्रकरण :  समाचार तथा सूचना संकलनमा आचारसंहिताको उल्लंघन भएको भन्दै महासंघको ध्यानाकर्षण

0
230

 

पाेखरा।  नेपाल पत्रकार महासंघले अभिनेता पल शाह हिरासतमा रहेको विषयलाई लिएर पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र पत्रकारबाट संप्रेषित भइरहेका समाचार तथा सूचनाले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन हुन गएको  पाइएकोले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 

पत्रकार आचारसंहिता–२०७३ मा समाचार संप्रेषण गर्दा बालसंवेदनशीलता, व्यक्तिको  गोपनीयतालाई ख्याल गर्नुपर्ने र पीडितलाई संरक्षण गर्नुपर्ने, पीडित र प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी समाचार तथा सूचना संप्रेषित गर्न नहुनेजस्ता व्यवस्था छन् ।

 

त्यस्तै यौन अपराधमा प्रभावित वा पीडित व्यक्तिलाई असर पार्न सक्ने सामग्री प्रकाशन, प्रसारण र वितरण गर्न नहुने तथा यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृतिबिना र प्रभावको मूल्याङ्कन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान खुलाउनु नहुनेलगायतका व्यवस्था पनि आचारसंहिता–२०७३ मा छ ।

 

महासंघले समाचार संप्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न तथा कानुनले बर्जित गरेका विषय एवं पीडितको पहिचान गोप्य राख्नुपर्ने र बालबालिकासँग जोडिएका विषयहरूमा समाचार प्रकाशन, प्रसारण गर्दा पत्रकारिताको आधारभूत मूल्यमान्यता र सिद्धान्तप्रति गम्भीर बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।