पोखरा जनकपुर उडान सुरु

२१ फाल्गुन २०७८, शनिबार

 

जनकपुर ।    जनकपुर पोखरा अब साताको २ दिन उडान हुनेछ । यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । गण्डकी भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले समन्वय गर्दै आएको छ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेस प्रदेशको भ्रमणमा निस्केको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।
प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन पोखरेल नेतृत्वको टोली जनकपुर आइपुगेको हो । टोलीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले स्वागत गरे ।
गण्डकीको टोली विमानस्थलबाट सिधै मुख्यमन्त्री कार्यालय पुगेको थियो । मधेसका मुख्यमन्त्री राउतले संघ सरकारसँग पौंठेजोरी खेल्दै संघीयतालाई मजबुत बनाउने काममा सरकार लागेको बताए । जानकीको जन्मथलो जनकपुर र पोखराबीचको सम्बन्धलाई मजबुत बनाउने यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले शनिबार नै प्रदेशप्रमुख हरिशंकर मिश्रसँग औपचारिक भेट गरेर भ्रमणको उद्देश्यबारे जानकारी गराए । मुख्यमन्त्रीसहितको टोलीले जनकपुरदेखि कुर्थासम्म ५ किलोमिटर खण्डमा रेल यात्रा समेत गरेको छ । त्यसपछि टोली धनुषाधाम पुगेको भने साँझमा गंगा आरतीमा समेत सहभागी भएको छ ।
गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको छ । गण्डकीको टोली आइतबार मधेसप्रदेशका विभिन्न पर्यटकीय र धार्मिकस्थलको अवलोकन गरी सोमबार पोखरा फर्कने कार्यक्रम तय भएको छ ।
 

 

Leave a Reply