आज दिउँसो ४ बजेर ५२ मिनेटबाट खण्डग्रास सूर्यग्रहण सुरु

८ कार्तिक २०७९, मंगलवार
आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । आज दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।
‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने ।
दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिए । उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।
सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए ।
उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

Leave a Reply