पोखरालाई पर्यटन र कृषिको हब बनाउँछौं ः गठबन्धन

२५ कार्तिक २०७९, शुक्रबार

पोखरा । कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखरालाई पर्यटन र कृषिको हब बनाउने बताएका छन् ।
बिहीबार पोखरा १६ अर्मलाकोटमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्कीका उम्मेदवार श्रीनाथ बरालले १६ का कृषि पर्यटन क्षेत्रको विकासमा लाग्ने बताए । उनले सो क्षेत्रलाई पर्यटन र कृषिको हब बनाउन पहल गर्ने बताएका हुन् । कृषि र पर्यटन क्षेत्रमा राम्रो संभावना रहेकाले त्यसको विकासका लागि पूर्वाधारमा ध्यान दिने उनको भनाई थियो । गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएमा धेरै कुरा सम्भव हुने उनले बताए । आफू जितेपछी नफर्किने मान्छे नभएको प्रष्ट पारे । एकपटक जितेपछि सधैं जनताको दुखदुखमा रहने उनको प्रतिवद्धता थियो ।
विगतमा पटक पटक अवसर पाएकाहरुले काम नगर्दा र प्राप्त उपलब्धिलाई समेत भत्काउने प्रयत्न गर्दा समस्या आएको उनले सुनाए । त्यही भएरै आफूहरु विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्दै गठबन्धनको माध्यमबाट जतामा आफै आएको उनको भनाई छ । उनले विगतमा कम्युनिस्ट र कांग्रेस मिलेर नै व्यवस्था परिवर्तन सम्भव भएको स्मरण गर्दै अब फेरि एकपटक मिलेर विकास र समृद्धिलाई अगाडि बढाउने उनले बताए ।
कास्की क्षेत्र नं. २(ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । सोही कार्यक्रममा थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’, उनले भने ।
थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
यता पोखरा १७ क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने र नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्पm प्रतिनिधिसभा सदस्य उम्मेदवार वृन्दादेवी रानासहित गठबन्धनका नेता कार्यकर्ता घरदैलोमा सहभागी थिए ।
घरदैलोको क्रममा उम्मेदवार लामिछानेले आफूले ड्यामसाइड क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटकको बहाव फर्काउने बताए । पहिले ड्यामसाइड नै पर्यटकको मुख्य केन्द्र रहेकोमा अहिले सर्दैै सिरान तर्फ पुगेको चर्चा गरेका उनले ड्यामसाड हुँदै पातालेछाँगोसम्म फटट्रयाक निर्माण गर्ने र गुप्तेश्वर गुफा लगायतको क्षेत्रमा पर्यटकीय पूर्वाधारले आकर्षण बढाउने धारणा राखे । फेवातालको स्वच्छता कायम गराउन सके पर्यटक ड्यामसाईड क्षेत्रमा बस्ने उनको भनाई छ । पोखरालाई हाम्रो मौलिकताको सहितको स्मार्ट सिटी निर्माण गर्नुपर्ने उनको धारणा थियो ।

Leave a Reply