कास्की–३ को प्रदेशसभा (२)मा काँग्रेसका बराल निर्वाचित

९ मंसिर २०७९, शुक्रबार

कास्की ।    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनको आज विहान घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका बराल १२ हजार ३६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा(एमाले)का राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गर्नुभयो । बराल र पहारीको मतान्तर ४६५ छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुुनुभएको थियो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार ५६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी)का रामवृक्ष धोवीले ११७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए ।

 

 

Leave a Reply