५०औं पटक रक्तदान गरेका रक्तदाता पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष रावललाई सम्मान

१९ मंसिर २०७९, सोमबार

 

टीकापुर । टीकापुर जेसीजले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावललाई सम्मान गरेको छ ।

जेसीजको साप्ताहिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रममा हालसम्म ५०औं पटक रक्तदान गरेको भन्दै अध्यक्ष रावललाई सम्मान गरेको हो । रक्तदान कार्यक्रमका संयोजक पदमबहादुर शाहीले रावललाई ५० औं पटकसम्म रक्तदान गरेको भन्दै सम्मान गरिएको बताएका छन् । “एक दुई पटक रगत दिन नमान्ने हाम्रो समाजमा ५०औं पटकसम्म नियमित रक्तदान गर्नु सामान्य कुरा होइन । यसले समाजलाई पनि राम्रो पाठ सिकाएको छ ।” शाहीले भने, ‘अरु युवाहरुलाई प्रेरणा मिलोस् र रक्तदान गर्ने बानीको विकास होस् भन्नका लागि समेत हामीले रावललाई सम्मान गरेका हौं ।”

रक्त समूह बी पोजेटिभ रहेका रावलले आत्मसन्तुष्टिका लागि नियमित रुपमा रक्तदान गर्दै आएको बताएका छन् । “रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र कसैको ज्यान बचोस् भन्ने चाहना भएर नियमित रक्तदान गर्दै आइरहेको छु । बिरामी हुँदा सुई लगाउन निकै डराउने म रक्तदान गर्दा भने आनन्द महशुस गर्छु ।” रावलले भने, “जबसम्म स्वास्थ्यले साथ दिन्छ तबसम्म नियमित रुपमा रक्तदान गर्नेछु ।” रावलले रगतको अभाव भएको थाहा पाएपछि अरुसँग समन्वय गरेर रगतको पुर्तीको लागि पनि समन्वय गर्दै आएका छन् ।

रक्तदान कार्यक्रममा टीकापुर जेसीजका पूर्व अध्यक्ष प्रकाश शाहले रक्त सञ्चार केन्द्रको अंगका रुपमा जेसीजमा आवद्ध युवाहरु लाग्नुपर्ने बताएका छन् । “टीकापुर अस्पतालमा दैनिकजसो रगतको अभाव हुने गरेको छ । सो अभावलाई जेसीजका युवाहरुले टार्नका लागि मद्दत गर्नुपर्छ ।” शाहले भने, “टीकापुर जेसीजले रक्त सञ्चार केन्द्रको अंगका रुपमा काम गर्नुपर्ने आवश्यकता छ । त्यसैपनी युवाहरूको भुमिका समाजप्रति सकारात्मक हुनुपर्नेमा जेसीज युवाहरुमा अझ बढी हुनुपर्छ ।”
विगत लामो समयदेखि जेसीजले नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रक्तदान गर्दै आइरहेको छ ।

रक्तदान कार्यक्रमका संयोजक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति दत्तबहादुर विष्ट रहेका थिए ।

रक्तदान कार्यक्रमबाट ३६ पिन्ट संकलन भएको रक्तदान कार्यक्रमका संयोजक शाहीले जानकारी दिएका छन् । टीकापुर अस्पतालमा विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया हुन थालेपछि रगतको खपत वृद्धि हुँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका अनुसार मासिक एक शय पिन्ट भन्दा बढी रगत खपत हुँदै आएको छ ।

Leave a Reply