जातीय समानताको लागि भिमादकाे जिलाङ्गमा सचेतना अभियान

२६ मंसिर २०७९, सोमबार

 

पाेखरा।तनहुँकाे भिमाद नगरपालिका -२ जिलाङ्गमा जातीय समानताको लागि सचेतना अभियान संचालन गरिएको छ।आइतबार अभियानकाे उद्घाटन गर्दै भिमाद नगरपालिकाकी उप-प्रमुख शारदा खनालले समाजमा रहेको जातीय विभेद निर्मुल पार्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको वताउनु भयाे।उहाँले गरिबी ,अशिक्षा ,र चेतनाको अभावका कारणले जातीय विभेद हुने गरेकाे उल्लेख गर्नुभयो ।

‘खोज्नुछ हामिले पहिचान, हरेक गाउँ क्षेत्रमा दलित जागरण अभियान’  भन्ने नाराका साथ जातीय भेदभाव, छुवाछूत, पेसागत सुरक्षा तथा कानुनी हक अधिकारका विषयमा सचेत गर्नका लागि तनहुँको भिमाद नगरपालिका- २ जिलाङ्गमा  अभियान संचालन गरिएको  हो ।

कार्यक्रममा प्रशिक्षक अधिबक्ता सरिता तिमल्सिना पङ्गेनीले जातिपातिकाे आधारमा छुवाछूत वा अन्य भेदभावपुर्ण व्यवहार गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने र राष्ट्रसेवकले यस्तो कसुर गरेमा थप तीन महिना सम्म कैद हुने वताउनुभयाे।

 

अर्का प्रशिक्षक अधिकारकर्मी धन बहादुर नेपालीले जिलाङ्गमा बिबाह भाेजमा २ वटा भान्छा राखिने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पुर्व मेयरकाे वडामा यस्तो जातीय विभेद कायम रहनु दुखकाे विषय भएको वताउनुभयाे।उहाँले जातीय बिभेदका बिरुद्ध कानुनी उपचार खाेज्नुपर्नेमा समेत जाेड दिनुभयाे।

कार्यक्रममा भिमाद नगरपालिका २ का वडा अध्यक्ष दिनेश कुमार थापा ,कार्यपालिका सदस्य बिरु बास्यल, कार्यपालिका सदस्य सन्दिप परियर, निबर्तमान कार्यपालिका सदस्य दिना गोतामे, नेकपा एमाले भिमाद- २ का   अध्यक्ष घनश्याम लम्साल, नेपाली काङ्ग्रेस भिमाद – २ का  अध्यक्ष गुन्जसिङ्ग थापा लगाएतले आ -आफ्ना भनाइ राख्नु भएको थियाे। ।

दलित एकता समाज भिमाद नगरपालिका -२ जिलाङ्ग तनहुँका सभापति हेम बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा  आमा समूह र विभिन्न टोल बिकासका दलित एवम् गैह्रदलित  करिब १०० जनाको सहभागीता  रहेको थियाे।

दलित एकता समाज भिमाद नगरपालिका- २ जिलाङ्ग तनहुँले आयोजना गरेको कार्यक्रमको संचालन दलित अधिकारकर्मी सालिक राम सुनारले गर्नु भएको थियाे।

 

 

Leave a Reply