लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पुरा
लेखनाथ । लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म १८ औँ संस्करणको लेखनाथ महोत्सव गरिने भएको छ। पोखरा–२७ तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुने उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवको मुख्य उद्देश्य वित्तीय क्षेत्रको तरलतालाई चलायमान बनाउने, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवर्द्धन गर्नुका साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले जानकारी दिए ।
साथै जातीय वेशभूषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गर्नु पनि रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
महोत्सवको अर्को आकर्षण यस क्षेत्रका पर्यटकीयस्थल बेगनास तथा रुपातालका साथै यस वरपरका कोट, मठमन्दिर तथा हरियाली जङ्गलको सांकेतिकरूपमा प्रतिबिम्वित हुने गरी प्रदर्शन गरिने संघका प्रथम उपाध्यक्ष एवम् प्रचारप्रसार समितिका संयाेजक राजेन्द्र ओझाले जानकारी दिए।
दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु दश करोडको कारोबार हुने अनुमान आयोजक संस्थाले ग छ। महोत्सवस्थलमा तीन सय ३७ स्टल राखिने भएको छ। महोत्सवबाट करिब रु ९५ लाख आम्दानी, रु ८५ लाख खर्च र रु दश लाख मुनाफा हुने अनुमान आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको छ ।
महोत्सवबाट हुने मुनाफाले प्रदर्शनीस्थल र संघको भवन स्तरोन्नति, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग पहल गर्ने रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ।
महोत्सव सफलरूपमा सम्पन्न गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, ५१ सदस्यीय उपसमिति संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सल्लाहाकार समिति, एक सय ६० सदस्यीय कार्यसम्पादन समिति सदस्य र दुई हजार एक सय मूल समारोह समिति सदस्य गठन गरिएको जानकारी पनि उक्त अवसरमा दिइएको छ।
महोत्सव अवलोकन गर्न विद्यार्थीलाई रु ५०, सर्वसाधारणका लागि रु ८० र कन्सर्ट टिकट रु एक सय ५० तोकिएको छ। महोत्सवमा पर्यटन प्रवर्द्धन र नयाँ उद्योगको प्रवर्द्धन गर्नका लागि आयोजकले निःशुल्क स्टलको व्यवस्था गरेको छ।
महोत्सवमा रेष्टुराँ, हस्तकला, कृषि, अटो, रेडिमेड, वित्तीय संस्था, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए। कवि शिरोमणि लेखनाथको सम्मानमा सोमबार शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका थिए।
संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष बिनाेद श्रेष्ठ ,प्रथम उपाध्यक्ष एवम् प्रचारप्रसार समितिका संयाेजक राजेन्द्र ओझा,महासचिव उपेन्द्रराज सुवेदी ,पाेखरा महानगरपालिकाका प्रवक्ता माेरिराज तिमिल्सिना ,वडा नम्बर २७ का अध्यक्ष पुर्ण गुरुङ ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी लगायतले बाेल्नु भएको थियाे।
Leave a Reply
You must be logged in to post a comment.