पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ४ मा जनजाति समुदायका महिलाको लागि सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष देबकृष्ण पराजुलीले आफ्नो हक अधिकार प्राप्तिका लागि जनजाति समुदायका महिलाहरुले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
वडा नम्बर ४ महिलाको क्षमता बिकासका सवालमा सधैं प्रतिवद्ध रहेको उल्लेख गर्दै जनजाति समुदाय ,दलित समुदाय र समग्र महिलालाई सशक्त बनाउन सके मात्रै लैङ्गिक समतामूलक समाज निर्माण गर्न सकिने उहाँको भनाइ थियाे।
पाेखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य एवम् कार्यक्रम संयाेजक पार्वती माकाजुले आदिवासी जनजातिले अधिकार उपभाेग गर्ने क्रममा कुनै पनि किसिमको भेदभावबाट मुक्त हुनुपर्ने कुरामा जाेड दिनुभयो ।
आदिवासी जनजाति समुदायका महिलाको अधिकारकाे प्रवर्द्धन तथा संरक्षण गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको उहाँले बताउनुभयो ।
पाेखरा -४ का आदिवासी जनजाति समुदायका महिलाको सहभागीता रहेको कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी र संचारिका समूह गण्डकीका अध्यक्ष कबिता श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।
तस्बिर : सुबर्ण केसी


