१८१ जना पत्रकारले गरे आँखा परीक्षण, ३५ जनालाई चश्मा १५ जना रिफर

१३ चैत्र २०७९, सोमबार

 

कास्की । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ ।

१८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए ।

यस्तै पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारहरुको थप स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् ।

शिविरको उद्घाटन सत्रमा बोल्दै नेत्रज्योती संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले समाजमा दिन रात खट्ने पत्रकारहरुको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निःशुल्क सिविर आयोजना गरिएको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारहरुको लागि बेला बेलामा आँखा परीक्षण गरिहनु पर्ने बताइन ।

हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हिमालय आँखा अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् ।

शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका का.वा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारहरुको छाता संस्थाको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरले पत्रकार महासंघ र नेत्रज्योती संघबीच थप सम्बन्ध प्रगाढ भएको बताउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताएका छन् ।

निःशुल्क शिविर कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरि उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव यदुनाथ बञ्जाराले गरेका थिए ।

Leave a Reply