रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस

५ श्रावण २०८०, शुक्रबार

पोखरा(रासस) । विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ ।
पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले जानकारी दिनुभयो ।
बोटबिरुवा रोपिने तर त्यसको संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै विपी स्मृति दिवसका अवसरमा गोडमेल कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले विपीका विचार बर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै काँग्रेसले उहाँको चिन्तनलाई आत्मसात गरी जनता माझ जान सक्नुपर्ने बताउनुभयो । पार्टीका हरेक गतिविधि उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला(मधु)ले काँग्रेसको विकल्प खोज्दा राष्ट्रियता, लोकतन्त्र नै गुम्ने खतरा हुने बताउँदै काँग्रेसको नभै काँग्रेस भित्र विकल्प खोज्न सकिने धारणा राख्नुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले काँग्रेस परिचालन हुँदा समुदाय नै परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासमिति सदस्य देवराज चालिसेले बिरुवाको गोडमेल भए जस्तै समय समपेक्ष विपी विचारको गोडमेल गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुली, वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, उमा ठकुरी लगायतले विपी विचारलाई आत्मसात गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उक्त अवसरमा पूर्व महामन्त्री शशांक कोइरालाले बृक्षारोपण गरिएको स्थललाई विपी बनबाटिका घोषणा गर्नुभएको थियो ।

Leave a Reply