अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ : प्रमुख आचार्य
१ भाद्र २०८०, शुक्रबार
पोखरा । फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ ।
पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुग्नुभएका महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन्, प्रमुख आचार्यले भन्नुभयो, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शङ्का गर्नुपर्ने कुनै कारण छैन ।” उहाँका अनुसार खोलाको सिमाङ्कन कार्यले खोला माथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ ।
फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताउनुभयो । “दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेन सहितको फुटट्रयाक बनाइने छ, उहाँले भन्नुभयो, यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।” फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएको प्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने प्रमुख आचार्यले बताउनुभयो । खोला माथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन, खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, उहाँले भन्नुभयो, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारबाही हुन्छ ।” खोला मिचेर आफैले संरचना बनाएको हुनसक्छ तर, खोला नै किनबेच भयो भन्ने कुरा विश्वास गर्न नसकिने उहाँले बताउनुभयो ।
सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी सिमास्तम्भहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अव खोलाको २०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी छ । नाप जाँचका क्रममा खोला माथि अविश्वासिलो ढङ्गले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उहाँले बताउनुभयो ।
खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताहरुले सकारात्मक सहयोग गरिरहेका छन् । स्थानीयहरूले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् । खेलामा अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्केखोलाको सिमाङ्कन टोलीमा सर्वेक्षक, इन्जिनियर र अमिनहरू सहित ४० जना परिचालित छन् ।
Leave a Reply
You must be logged in to post a comment.