पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठक

२४ भाद्र २०८०, आईतवार
पोखरा ।  पोखरा महानगरपालिकाको समन्वयमा पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठक गरिएको छ । सडक विस्तार आयोजनाका सरोकारवाला सबैको सहभागितामा सो बैठक गरिएको हो ।
पोखरा महानगरपालिकामा बसेको बैठकमा नगरप्रमुख धनराज आचार्य सहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरे, सडक क्षेत्रमा पर्ने वडाहरू वडा नं.१० का वडा अध्यक्ष राजेश गुरुङ, १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, १४ का वडा अध्यक्ष बोध बहादुर कार्की, २६ का वडा अध्यक्ष नरेन्द्र थापा, २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
यस्तै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आचार्य, सडक विस्तार आयोजना पश्चिम खण्डका प्रतिनिधिहरू, परामर्शदाता, निर्माण कम्पनीका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सेतिपुलको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन, नेपाल टेलिकम, नेपाल खानेपानी संस्थान, नापी कार्यालय, सिँचाइ कार्यालय लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको समीक्षात्मक बैठकमा सहभागिता रहेको थियो ।
तोकिएको समय सीमाको ६७ प्रतिशत समय व्यतीत भैसकेको आयोजनाको पश्चिम खण्डमा प्रगति ९ प्रतिशत मात्र देखिएको छ । आयोजना निर्माणका क्रममा देखिएका समस्याहरू बारेमा छलफल केन्द्रित थियो । स्थानीय अवरोध हटाउन पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । कतिपय अवस्थामा समस्या देखाएर मात्र समस्याको समाधान नहुने भन्दै निर्माण कार्यलाई अघि बढाउन उहाँले निर्माण व्यवसायीलाई आग्रह समेत गर्नुभयो । कोत्रेदेखि सेतिपुलसम्म सडकमा परेका खाल्डाखुल्डीहरू एक साताभित्र पुर्न उहाँले निर्देशन समेत दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कास्कीको लाइफलाइनको रूपमा रहेको सडक निर्माण कार्यमा भइरहेको ढिलाइ स्वीकार्य नहुने चेतावनी दिनुभयो । कुनै पनि बाहानामा कोही पनि जिम्मेवारीबाट पन्छने र आरोप र प्रत्यारोप गरी ढिलासुस्ती गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । तत्काल समस्याको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायले यथाशीघ्र निर्माण कार्यमा सहजीकरण गर्न उहाँले निर्देशन दिनुभयो ।
सडक आयोजनाको परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरूले आयोजना निर्माण स्थलमा खानेपानीको पाइप विस्तार, विद्युत् पोलहरू स्थानान्तरण, टेलिफोनका तारहरूको व्यवस्थापन, सिँचाइका कार्यहरू समयमा नभएका कारण निर्माण कार्य ढिलाइ भइरहेको बताएका छन् । सरोकारवाला निकायहरूले भने आ(आफ्नो क्षेत्रबाट काम गरिरहेको बताएका छन् ।
आयोजना निर्माण कार्यलाई तत्काल अघि बढाई सडकको दुरावस्थाको अन्त्य गर्न स्थानीय वडा अध्यक्षहरू लगायत सहभागीहरूले जोड दिएका छन् । सेतिपुलको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका सञ्चालक सुदर्शन देवकोटाले स्थानीय अवरोध हटाए आफूले तोकिएको समय सीमा भित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Leave a Reply