संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पोखरामा भव्य स्वागत

१४ कार्तिक २०८०, मंगलवार
पोखरा ।    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष विमान मार्फत पोखरा आउनुभएका महासचिव गुटरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायी, जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह, नेवारी सांकृतिक समुह, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारहरु लगायत पोखरेलीहरूको तर्फबाट भव्य स्वागत गरिएको हो ।
पोखराको पुरानो एयरपोर्टमा ओर्लनुभएका गुटरेसलाई बाजागाजा र झाँकी सहित स्वागत गरिएको हो । पोखरा भ्रमणका लागि आउनुभएका महासचिव गुटरेसले आफूलाई पोखरेली जनताको तर्फबाट गरिएको स्वागत सत्कार प्रति खुसी व्यक्त गर्नुभएको छ । पोखरा भ्रमणका क्रममा गुटरेसले पुम्दिकोट स्थित भुमेश्वर महादेव मूर्तिको चारैतर्फबाट हिमाल, ताल र समग्र पोखराको अवलोकन गर्नुभयो ।
सो क्रममा उहाँले हिमालहरूको बारेका निकै चासोका साथ जिज्ञासा समेत राख्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महासचिव गुटरेसलाई सन् १९५० मा टोनी हेगनले खिच्नुभएको हिमालय श्रृखला देखी हिमालहरूको बारेमा ब्रिफिङ गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण विश्वमा देखिएको वातावरणीय समस्या प्रति निकै चिन्तित महासचिव गुटरेसले नेपालका हिमालयहरूको अवस्थाका बारेमा नजिकबाट अवलोकन गर्नुभएको छ । महासचिव गुटरेसले फिस्टेल लज देखी तालबाराही मन्दिरसम्म बोटिङ पनि गर्नुभयो ।
मङ्गलवार महासचिव गुटरेस नेपाली सेनाको हेलिकोप्टर मार्फत अन्नपूर्ण बेसक्याम्प जाने कार्यक्रम छ । उहाँले त्यहाँ हिमाली जनजीवन र त्यहाँको वातावरणीय अवस्थाका बारेमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रियामा समेत गर्नुहुने बताइएको छ । बेसक्याम्पबाट फर्किएपछि पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी गुटरेस लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

Leave a Reply