पोखरामा  थप परियोजनाहरूमा समेत सहयोग गर्न एडिबी सकारात्मक 

१६ कार्तिक २०८०, बिहीबार

 

 

 

पोखरा  ।   एसियाली विकास बैङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । बैङ्कको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ रहनु भएका राममूर्तिले प्रमुख आचार्यको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा राममुर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गर्नुभयो । पूर्वाधार निर्माण सहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनाहरूमा एडिबीको सहयोग रहेको थप परियोजनाहरूमा समेत सहयोग गर्न एडिबी सकारात्मक रहेको सन्देश राममुर्तिले दिनुभयो ।

नगरप्रमुख धनराज आचार्यले पोखराको पूर्वाधार सहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाहरूको पहिचान गरिएको जनाउनुभयो । पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको बताउँदै उहाँले दिगो पर्यटन विकास आवश्यक रहेको बताउनुभयो ।

एडिबीको सहयोगमा हाल ठुलो प्रोजेक्टको रूपमा पोखरा मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ भने, पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ वटा परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ ।

प्रमुख आचार्यलाई राममुर्तिले एडिबीको मुख्यालय मनिला भ्रमणको निम्तो समेत दिनुभयो ।

 

Leave a Reply