चन्द्रावतीको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण

१९ मंसिर २०८०, मंगलवार

 

पोखरा  ।  साहित्यकार चन्द्रावती अधिकारी वाग्लेको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी प्रतिभा वाङमय प्रतिष्ठानले वाग्लेको जन्मदिनको अबसरमा  उक्त संग्रह लोकार्पण गरेकाे हो ।

पुस्तक लोकार्पण गर्दै विम्वकवि रमेश श्रेष्ठले मानिसको विविध तिर्खाले नै संसारमा ठूला ठूला आविष्कार , सृजना र परिर्वतन भएको बताउदै सहित्य क्षेत्रमा लेखकको तिर्खा समुद्र जस्तै गहिरीदै जावोस भन्दै शुभकामना दिनुभयो ।

छन्दनायक माधव वियोगीले वाग्ले राष्ट्रिय प्रतिभाको रुपमा सम्मान पाउन योग्य पात्र रहेको बताउनुभयो । वाग्लेले पलपलका भावनाहरु कृति कलमले होइन हृदयले लेखेको बताउदै एउटै विषयमा लेखिएकोले  कविता संग्रह भएता पनि खण्डकाव्य भएको बताउनुभयो । उहाँले लेखकलाई अब महाकाब्य लेख्न सुझाव दिनुभयो ।

पुस्तकको समिक्षा पर्दै महाकाव्यकार छन्दमणी त्रिपाठीले लेखक वाग्लेले ५१ वटा कवितामा आफुले व्यहोरेको पति शोक संगैका भावनाहरु समेटिएको बताउनु भयो । कविताहरु लोकलयात्मक शैलीमा भएकाले आम पाठकले सरल र सहज रुपमा गहन विषय प्राप्त गर्ने बताउनुभयो ।

परिवारको तर्फबाट लेखक चन्द्रावती वाग्लेकी छोरी डा.अनुपा वाग्लेले आमाको भूमिकामा रेहेर सरकारी जागिरे , गृहिणी सगैं आफ्ना थुप्रै पिडाका बावजुत पनि अगाडि वढ्ने हिम्मत जुटाएर आमाको याे हिम्मतल‍े आफुलाई  भविष्यमा साहित्य क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी , प्रतिष्ठानका सदस्य रमा खतिवडाले पुस्तकमा समेटिएका कविता वाचन सहित शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्रष्टाको परिचय साहित्यकार वसन्त चालिसेले गर्नुभएको थियो । नारी प्रतिभा वाङमय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष अम्विका भण्डारी र संचालन सचिव लक्ष्मी थापाले गर्नभएको थियो ।

Leave a Reply