ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न

१ माघ २०८०, सोमबार
  पोखरा ।  परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक ढुँङ्गेसाँघु मेला भव्यता पूर्वक सम्पन्न भएको छ । हरेक वर्ष माघेसक्रान्तिको दिन पोखरा १७ ढुँङ्गेसाँघुमा हुँदै आएको उक्त मेला यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न भएको हो ।
यसअघि मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले यसको ऐतिहासिकताको संरक्षण गर्दै धार्मिक तथा पर्यटयिक पूर्वाधार निर्माणमा जोड दिनुभयो । सितापाइला क्षेत्रका रूपले परिचित उक्त क्षेत्रको महत्वलाई उजागर गर्ने र पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उहाँले बताउनुभयो । सितापाइला र सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको ऐतिहासिक पक्षलाई उजागर गर्ने कार्यमा सहयोग गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । ढुंगेसाँघु मेलाको वैभवतालाई जोगाउने र स्थानीय स्तरमा विकास निर्माणका पूर्वाधार तयार गर्ने कार्यमा समेत महानगरपालिकाको साथ र सहयोग रहने प्रमुख आचार्यले विश्वास दिलाउनुभयो ।
भगवान् राम र सिताले माघे सङ्क्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकाले सखर, तरुल लगायत कन्डमुलहरु विक्री वितरण सहित खाने गरी मेला आयोजना गर्न थालिएको किंवदन्ती रहेको छ । मेलामा विशेष गरी परम्परागत सामानको बिक्री वितरण मुख्य आकर्षणको रूपमा रहने गर्दछ । पहिले तिन चार दिनसम्म हुने मेला पछिल्लो समय भने एक दिन मात्र हुने गरेको छ । पोखरा महानगरपालिका वडा नं.१७ र १५ जोड्ने प्राकृतिक ढुङ्गाको पुल भएकाले सो स्थानलाई ढुङ्गे साँघु भन्ने गरेको पाइन्छ ।
कहिलेबाट यस मेलाको सुरु भएको भन्ने ऐतिहासिक दस्ताबेज नभेटिएको तर विक्रम संवत् १८६४ तिरका केही प्रमाणहरू भेटिएका बताइन्छ । धार्मिक रूपमा राम सिताले सेती गङ्गा स्नान गरेर हिँडेकाले महतगौडामा सीतापाइला नाम रहन गएको हो । उक्त स्थानमा अहिले पनि राम सीता बसेको चौतारीको वरपीपलको रुख एकै वृक्ष भएर झाँगिँदै गएको छ । पहिला कहीँ कतै पुल नभएको सेती वारिपारि गर्ने एक मात्र स्वतः निर्मित ढुङ्गाको पुल मात्र प्रयोगमा आएकाले पनि यसको ऐतिहासिक महत्त्व छ ।

Leave a Reply