पोखरा । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय- गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा “स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला ” शुरु भएको छ । गण्डकी प्रदेशका २४ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा /योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा पर्यटनको विकास , पर्यटन रणनीति , पर्यटन नीति , पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल हुनेछ । कार्यशालामा गण्डकी प्रदेश अन्तरगत रहेका पोखरा महानगरपालिका, पुतलीबजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका ,देवचुली नगरपालिका र भिरकोट नगरपालिका तथा मनाङ्ग नोस्याङ, माछापुच्छे्र , अन्नपूणर्, अर्जुनचौपारी, फेदिखोला, बन्दिपुर, बेसिशहर, बारपाक सुलिकोट, गेखर दामोदरकुण्ड, काठेखोला, घरपजोङ्ग, महाशिला, रिसिङ्ग, मोदी, क्होलासोथार र दार्चे लगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको छ । कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो ।

