नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने

१४ फाल्गुन २०८०, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताउनुभयो ।

सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताउनुभयो । कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताउनुभयो ।

उहाँले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताउनुभयो । शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उहाँको जोड छ । ‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं ।

कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’ मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताउनुभयो ।

 

उहाँले जहाज मार्फत कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेकाे उहाँको थियोे । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply