होलीको पूर्वसन्ध्यामा पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य

१० चैत्र २०८०, शनिबार

पोखरा ।   भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले    बाराही घाट लेकसाइड पोखरामा   उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका  मुख्यमन्त्री  सुरेन्द्रराज  पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गर्नुभयो ।

 

भारतीय राजदूतावासका प्रथम सचिव  अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गर्नुभयो ।

श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो ।

लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व  निश्कल उदासले गर्नुभएको थियो । वहाँलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिनुभएको थियो ।

गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा  ५०० भन्दा बढी मानिसको उपस्थिति थियो ।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले चैत्र ९ गते काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।

यस कार्यक्रमपश्चात टोलीले चैत्र ११ गते लुम्बिनी, चैत्र १३ गते वीरगंज र चैत्र १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

Leave a Reply