लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा नेपाल प्रदेश राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई शुक्रवार विशेष सम्मान गरिएको छ ।
संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य दिँदै समाजमा कानुन र सुरक्षा व्यवस्थाको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले ट्राफिक सुरक्षाको सुदृढीकरणका लागि प्रहरी प्रशासन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक दानबहादुर थापाले राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनमा समुदायको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले भने, “राजमार्ग दुर्घटना न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन । नागरिक, व्यवसायी, चालक र सम्पूर्ण समुदायको साझा जिम्मेवारी र सचेत सहभागिता अत्यावश्यक छ ।” थापाले प्रहरी प्रशासन जनमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूले सरोकारवालाबीचको समन्वय र विश्वास सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी सदस्यहरूले राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा ब्यवसायी क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । प्रमुख अतिथि थापाले सो अवसरमा सहभागीहरूको प्रश्नको जवाफ दिँदै ट्राफिक दुर्घटनामा कमी ल्याउन प्रहरी प्रशासनको पहल र नागरिक सहयोग दुवै महत्वपूर्ण हुने बताए ।
कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने, स्वागत मन्तव्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले प्रस्तुत गरे । धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरे।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य, व्यवसायी तथा सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।